कांग्रेसका दुई जना होनहोर योद्धाहरूको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । पर्सा र नवलपरासीमा नेपाली कांग्रेसका दुई होनहोर नेताहरूको निधन भएको छ ।

नेपाली काग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार शोक वक्तव्य जारी गरेर पर्सा र नवलपरासीमा दुई जना नेताहरूको निधन भएको जनाएका हुन् ।

उनीहरूप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समेवदना प्रकट गरेको मुख्यसचिव पौडेलले बताएका छन् ।

नेपाली कांग्रेस शिक्षा विभागका सदस्य एवम् पर्सा जिल्ला निवासी प्रमोदकुमार गुप्ताको मंगलबार निधन भएको छ ।

गुप्ताले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । कांग्रेसले गुप्ताको निधनबाट पार्टीलाई ठूलो नोक्सान भएको जनाएको छ ।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, शोक वक्तव्यमा भनिएको छ, ‘उहाँमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनहरूमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।’

त्यसैगरी, नेपाली कांग्रेस नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का उपसभापति ३८ वर्षीय सुवाषचन्द्र गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको छ । गिरीको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको हो ।

कांग्रेस उपसभापति स्व.गिरी एक सफल व्यवसायी पनि हुन् । ‘स्वर्गीय गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो’, कांग्रेसले भनेको छ, ‘उहाँको निधनबाट पार्टी एक कुशल व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ ।’

गिरीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले गिरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

Published : Tuesday, 2020 August 18, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया