६५४ प्रहरीलाई कोरोनाको संक्रमण, हेडक्वारमा १६३ जना

काठमाडौं । कोरोनाभाइरसको संक्रमण तिब्र गतिका साथ फैलिरहेका बेला नेपाल प्रहरीमा ६५४ जनामा संक्रमण भेटिएको छ ।

नेपाल प्रहरीमा सोमबारसम्म ६५४ जना संक्रमित भेटिइसकेको जनाइएको छ । प्रहरी मुख्यालयमा १६३ जना संक्रमित भेटिएका छन् । सम्पर्कमा आएका ५५ जना क्वारेन्टिनमा छन् ।

काठमाडौं उपत्यकामा ३६ जना संक्रमित देखिएका छन् । प्रहरी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले ४०० जना संक्रमित प्रहरी अस्पतालमा उपचाररत् रहेको जानकारी दिए ।

संख्या बढ्न थालेपछि प्रहरी अस्पताल पछाडिको ब्यारेकमा १५० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

सामाखुसीस्थित विपत व्यवस्थापन महाशाखामा पनि १५० बेडको आइसोलेसन निर्माण गरिएको कडायतले बताएका छन् ।

हालसम्म २५४ जना निको भएर काममा फर्किएका छन् । संक्रमितहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी हेडक्वार्टरमा कार्यरत् भान्से, चालक लगायतमा कोरोना संक्रमण बढी देखिएको छ ।

महाशाखा साथै थापाथली र महाराजगन्ज ट्राफिक वृत्तमा १७ जना संक्रमित भेटिएका थिए ।

प्रदेश १ मा २५, २ मा ४३, बागमती प्रदेशमा ४२, गण्डकीमा २३, पाँच नम्बरमा ५७, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा ५ जना प्रहरीमा कोरोना संक्रमित छन् ।

सशस्त्र प्रहरीमा कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ । जसमध्ये १४४ संक्रमित उपचारमा छन् । १३६ जना निको भइसकेका छन् ।

Published : Tuesday, 2020 August 18, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया