पर्वतमा कांग्रेसको भवन धमाधम बन्दै, युवा नेता मल्लले २५ लाख दिने

कुश्मा । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पर्वत कांग्रेसले सोमबार कुश्मा नगरपालिका–४ स्थित एकताचोकमा निर्माणाधीन वीपी स्मृति भवन परिसरमा पत्रकार सम्मेलन गरेर पार्टी कार्यालयको भवनको निर्माण कार्यको जानकारी दिएको हो ।

हालसम्मको निर्माणको अवस्था, बोलकबोल रकम, हालसम्म खातामा जम्मा भएको रकम, जम्मा हुन बाँकी र खर्चको अनुमानित विवरण सार्वजनिक गरेको छ ।

भवन निर्माण समितिका संयोजक एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले आगामी मंसिरसम्ममा सबै निर्माणकार्य सम्पन्न हुने गरी काम भइरहेको बताए । लकडाउनले भवन निर्माणको कार्यमा अबरोध भएको जोशीले बताए ।

जोशीले सुविधासम्पन्न भवनमा सभापतिसहित जिल्ला पदाधिकारीको कार्यकक्ष, हरेक पदाधिकारीलाई ल्यापटपको व्यवस्थासहित प्रविधिमैत्री, भातृ तथा शुभेच्छुक संस्थाको प्रमुखलाई एउटा कुर्सी, टेबल र दराजको ब्यवस्था मिलाइने जानकारी दिए ।

साढे दुई तले भवनमा दुई वटा सभाहल र छ वटा कोठा रहनेछ । ‘वर्षौदेखि आफ्नै भवन नहुँदा भाडाको घरमा बस्दै आएको कार्यालय अब मंसिरदेखि नयाँ सुविधासम्पन्न भवनमा सर्दैछ’, जोशीले भनेका छन् । भवन निर्माणका लागि जोशीले सहयोगको अपील पनि गरेका छन् ।

पार्टी कार्यालय निर्माणका लागि हालसम्म ६५ लाख रुपियाँ संकलन भएको छ । बोलकबोल गरेको एक करोड ११ लाख रुपियाँ खातामा जम्मा हुन बाँकी रहेको जोशीले बताए ।

उनले भवन निर्माणको आयब्ययलाई पारदर्शी बनाउनका लागि आम्दानी र खर्चलाई बैंकमार्फत नै जम्मा गर्ने र चेक काट्ने गरिएको बताए । जोशीले भवन निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री पनि सस्तो मूल्यमा पाएको बताएका छन् ।

साढे दुई तला भएपनि भवनको मापदण्ड १०–१२ तलासम्म पनि धान्न सक्नेगरी संरचना तयार पारिएको छ ।

भवन निर्माणका लागि दुई करोड एक लाखको अनुमानित लागत लाग्ने जोशीले बताएका छन् ।

फर्निचर, ल्याबटप, सिसिक्यामेरा, पर्खाल, गेटलगायतको संरचना निर्माणको लागि थप लगानी आवश्यक पर्नेछ ।

नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टी भवन निर्माणमा पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूबाट भएको सहयोगका लागि धन्यावाद दिए । उनले एक वर्षकै अवधिमा भवन निर्माण पूरा हुन लागेकोमा खुशी ब्यक्त गरे ।

जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य लोकनाथ आचार्यले भवन निर्माण गर्नुपर्छ र त्यसका लागि कसैले पनि अवरोध गर्न हुँदैन भनेर आफूले पहिलेदेखि भन्दै आएको बताए ।

भवन निर्माणका लागि सबैभन्दा बढी २० लाख रुपियाँ जलजला गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष समेत रहेका पर्वत कांग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले वीवी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठलगायतका नेता राष्ट्रिय विभूति भएको भन्दै उनीहरूको नाममा निर्माण हुने भवनका लागि सहयोग गर्नुपर्ने बताए ।

मल्लले जलजला गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् । मल्ल भवन निर्माण समितिका कोषाध्यक्षसमेत हुन् ।

कांग्रेसका युवा नेता मल्लले व्यक्तिगत रुपमा पाँच लाख ५५ हजार रुपियाँ भवनका लागि सहयोग दिने घोषणा पनि गरेका छन् ।

मल्लले भवन निर्माणका लागि सहयोग, साथ समर्थन गर्न देश, विदेशमा रहेका सबैलाई आग्रह पनि गरेका छन् ।

जलजला गाउँपालिकापछि सबैभन्दा बढी सहयोग गर्नेमा भवन निर्माण समितिअन्र्तगत आर्थिक उप–समितिका संयोजक एवम् महासमिति सदस्य गंगाधर तिवारी रहेका छन् ।

Published : Monday, 2020 August 17, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया