चपागाउँस्थित कान्तिलोकपथ भत्किएर बेहाल, काम नगर्ने जनप्रतिनिधिलाई कारबाहीको चेतावनी

चापागाउँ । जनप्रतिनिधिहरूले बेवास्ता गर्दा ललितपुर जिल्लास्थिति कान्तिलोकपथअन्तर्गत चापागाउँको सडकखण्ड हिँड्नै नसक्ने गरी भत्किएको छ ।

समयमा मर्मत सम्भार र गुणस्तरीय काम हुन नसक्दा ललितपुर क्षेत्र नम्बर १ मा पर्ने गोदावरी नगरपालिकाको चापागाउँको सडकखण्ड वर्षातको पानीले भत्काएर बेहाल बनाएको हो । विगतमा कालोपत्रे गर्दा कमसलखालको काम गरेपछि ४–५ महिनामै सडक भत्किएको स्थानीयको आरोप छ ।

बाटो भत्किएर हिलाम्मे भएको छ । सडक पोखरी जस्तो भएको छ । सडक विभागले तोकेको मापदण्डमा कालोपत्रे हुनुपर्ने थियो । तर, कमिशनको चक्करमा कमसलखालको कालोपत्रे गर्दा कम्तिमा एक वर्ष टिक्नुपर्ने सडक ४–५ महिनामै भत्किएको छ । सडक भत्किएपछि ठेकेदार फरार भएका छन् ।

चापागाउँका स्थानीय रमेश देशारले भत्किएको सडकबाट आफूहरू समस्यामा परेको बताए । उनले ठेकदारले कम गुणस्तरको काम गरेका कारण चापागाउँको सडक भत्किएर समस्या भएको बताए । उनले जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान दिएको भन्दै अब आफूहरू चुप लागेर नबस्ने बताएका छन् ।

चापागाउँकी लक्ष्मी श्रेष्ठले जनप्रतिनिधिहरूले विकासमा कुनै चासो नदेखाएको गुनासो गरिन् । उनले सडक भत्किएर सर्वसाधारणहरू समस्यामा परेको बताइन् । ‘सडक भत्किएको छ । हिँडडुल गर्न समस्या भएको छ’, उनले भनिन्, ‘यो सडक छिटो बनाउनुपर्छ । कमसलखालको काम गर्ने ठेकदारलाई कारबाही गर्नुपर्छ । होइन भने जनप्रतिनिधिहरूलाई यो सडकबाट हिँड्न दिन्नौँ ।’

सडक संघर्ष समितिका संयोजक रामभक्त महर्जनले पनि सडकको दुरदशाका बारेमा आब आफूहरू चुपलागेर नबस्ने बताएका छन् । उनले आवश्यक प¥यो भने सबै जनप्रतिनिधिहरूलाई दवाव दिन कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

महर्जनले जनप्रतिनिधिहरूको लापरबाहीले जनताले समस्या भोग्नुपरेको बताए । उनले भने, ‘हामीले गएको निर्वाचमा विकासप्रेमी नेता चुन्न नसक्दा चापागाउँको विकासमा पछि परेका छौं ।’

चापागाउँमा उपत्यकाको ४ बाराहीमध्य १ बज्रबाराही मन्दिर पर्छ । दशैँको टीकाको दिन बज्रबाराही मन्दिरमा हजारौँ भक्तजनहरू दर्शन गर्न आउने गर्छन् । चापागाउँले आफ्नै प्रकारका पर्यटकीय महत्व बोकेको छ । तर, यो ठाउँमा आउने सडक भने भत्किएर हिँड्नै नसकिने अवस्थामा पुगेको छ ।

काठमाडौं उपत्यकाबाट मकवानपुरको हेटौँडा जोड्ने कान्तिलोकपथ सडक निर्माणका लागि जनप्रतिनिधिका साथै सरोकारवाला निकायले कुनै ध्यान नदिएको भन्दै स्थानीयहरू आक्रोशित छन् । यो सडक हेटौँडा जोड्न सबैभन्दा छोटो दुरीको सडक मानिन्छ । कान्तिलोकपथबाट साढे दुई घण्टामा हेटौंडा पुग्न सकिन्छ ।

चापागाउँको सडक बनाउन पाँच महिना अगाडि स्थानीयको व्यापक दवावपछि कालोपत्र गरिएको थियो । बाटो कालोपत्र गर्नका लागि दवाव दिन स्थानीय रामभक्त महर्जनको संयोजकत्वमा संघर्ष समिति गठन भएको थियो ।

Published : Friday, 2020 August 14, 8:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया