डा.नुतन शर्माले गरिन् पाठेघरको कठिन शल्यक्रिया, खुसी भइन् सुनिता

काठमाडौं । तीन पटक सिजिरियन अर्थात शल्यक्रियामार्फत प्रसुति गराएकी ९७ किलो तौल भएकी महिलाको नर्भिक अस्पतालमा दुरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।

काठमाडौंकी ४३ वर्षीया सुनिता श्रेष्ठको वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन एवम् टेष्ट ट्युव वेवी विशेषज्ञ डा. नुतन शर्माले दुरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरेकी हुन् ।

‘सामान्यतः तेस्रो अप्रेसनपछि पेट चिरेर शल्यक्रिया गर्नु निकै कठिन हुने गर्दछ’, डा.शर्माले भनिन्, ‘त्यसमा पनि ९७ किलो तौल भएकी महिलाको मोटोपनाका कारण दुरबिनबाट शल्यक्रिया गर्नु अझै कठिन र दुर्लभ हो ।’

डा. शर्माले भनेकी छिन्, ‘आधुनिक प्रविधि र दक्षताका कारण नेपालमै हामीले जटिलभन्दा जटिल शल्यक्रिया पनि ल्याप्रोस्कोपी विधिमार्फत गर्न सम्भव बनाएका छौं ।’

प्रसुति गराउने शल्यक्रिया बाहेक स्त्री रोगसँग सम्बन्धित सबै रोगको उपचार अब दुरबिन प्रविधिबाट सम्भव भएको डा. शर्माले बताएकी छिन् । दुरबिन प्रविधिबाट शल्यक्रिया बिरामीका लागि स्वास्थ्यका दृष्टीकोणले निकै सुविधायुक्त र आरामदायी भएपनि जनचेतनाको अभावका कारण कतिपयले दुरबिनबाट शल्यक्रिया गराउन अझैपनि अफ्ठ्यारो मान्ने गरिएको डा. शर्माको अनुभव छ ।

‘मैले १५ वर्षदेखि स्त्रीसम्बन्धित रोगको उपचार गर्दै आएको छु’, उनले भनिन्, ‘दुरबिनबाट गरिने शल्यक्रियामा बिरामीलाई निकै सहजता हुन्छ, शल्यक्रियाको अर्काे दिन बिरामी हिड्न सक्छ, पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने महिना दिनसम्म आराम गर्नुपर्ने आवश्यकता हुँदैन ।’

‘दुई दिनमा अस्पताल बसाई सकेर बिरामी एक हप्तामा आफ्नो नियमित काममा फर्किन सक्छ । कतिपय बिरामीमा दुरबिनबाट शल्यक्रिया गर्दा पाठेघरको टुक्रा पेटभित्र छुट्ने, पुर्णरुपमा रोगको उपचार नहुने भन्ने भ्रम रहेको पाइयो’, डा. शर्माले भनिन्, ‘पेट चिरेर गरिनेभन्दा दुरबिनबाट गरिने अप्रेशन कयौ गुणा राम्रो हो, यसमा कुनै खालको जोखिम हुँदैन ।’

यो शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था समेत तुलनात्मक रुपमा निकै राम्रो हुने गरेको डा. शर्माको भनाई छ । हाम्रो आखाले नदेख्ने कतिपय कुरालाई दुरबिनले अझै स्पष्ट गरेर देखाउने भएकाले शल्यक्रियामा दुरबिन प्रविधि सवै भन्दा उत्कृष्ट भएको डा. शर्माको भनाई छ ।

Published : Thursday, 2020 August 13, 1:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया