प्रकाशमान सिंहद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा, पार्टीभित्र तरंग
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेता सिंहले आइतबार एउटा राष्ट्रिय दैनिकसँगको अन्तर्वार्तामा सभापतिमा आफ्नो उम्मेदवारी प्रकृतिक भएको बताए । उनले हालका सभापति शेरबहादुर देउवालाई पराजित गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहबाट साझा उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।
‘अहिलेको सभापतिबाट राम्रोसँग पार्टी चलेन’, उनले भने, ‘अब नेतृत्व ट्रान्सफर हुनुपर्छ भन्नेमा हामीबीच समझदारी छ ।’
‘यो मिसनमा हामी सबै एक ठाउँमा छौं’, नेता सिंहले भने, ‘सभापतिलाई चुनौती दिन एउटै उम्मेदवार बन्नुपर्छ भन्ने पनि हामीलाई महसुस भएको छ ।’
‘तर, को हुने भन्नेबारेमा अहिल्यै कुरा अघि बढेको छैन’, उनले भने, ‘महाधिवेशन प्रतिनिधि चयन भएपछि उहाँहरूको परामर्शसमेत लिएर हामी उम्मेदवार चयन गर्छौं ।’
‘जब, मिसनमा एक ठाउँमा छौं भने उम्मेदवार पनि एउटै हुन्छ भन्नेमा मलाई विश्वास छ’, कांग्रेस नेता सिंहले भनेका छन् ।
तपाई १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हो ? भनेर सोधिएको जिज्ञासामा नेता सिंहले भनेका छन्, ‘तलैदेखि संघर्ष गरेर आएँ, काठमाडौंमा नेविसंघ र पार्टीको सभापति भएको, केन्द्रमा केन्द्रीय सदस्यदेखि, उपसभापति, पहिलो निर्वाचित महामन्त्री, सरकारमा पटक–पटक मन्त्री, उपप्रधानमन्त्री र संसदीय दलको उपनेता हुँदै नेतामा प्रतिस्पर्धा गरिसकेकाले मेरो उम्मेदवारी प्राकृतिक हो ।’
‘अर्को पक्ष राजधानीले अहिलेसम्म पार्टी र सरकारको नेतृत्व पाएको छैन’, उनले भने, ‘अब त्यो बेला पनि आउन लाग्यो भन्ने मलाई लाग्छ ।’
नेता सिंहले सभापतिका लागि आफूले गृहकार्य गरिरहेको समेत उल्लेख गरेका छन् । १४औँ महाधिवेशनलाई लक्षित गरेर काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको निवासमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग दैनिक सरह भेटवार्ता गर्दै आएको उनले बताएका छन् ।
लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंह कांग्रेसभित्र स्पष्ट वक्ताका रुपमा लिइन्छ । नेता सिंहले कांग्रेसका उपसभापति, महामन्त्री, उपप्रधानमन्त्री लगायतका जिम्मेवारी सम्हालीसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया