वीपीको अपमान गर्ने यी कम्युनिस्टलाई तरुणले नछाड्ने, कमाण्डरले दिए चेतावनी

काठमाडौं । नेपाल तरुण दलले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वीपी कोइरालाको अपमान गरिएको भन्दै आपत्ति जनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आइतबार बिहान विज्ञप्ति जारी गरेर वीपी कोइरालाको अपमान र अस्तित्व मेटाउने कार्य गरेको भन्दै यस्ता कुराहरू स्वीकार्य नहुने बताएका छन् । उनले प्रतिष्ठान स्थापनाका क्रममा राखिएको वीपी कोइरालाको तस्बिरलाई उपकुलपतिले हटाएको कुरा निन्दनीय र खेदजनक रहेको बताए ।

‘प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइराला नेपाल तरुण दलको सम्मानित आदर्श पात्र हुन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले महामानव वीपी कोइरालाप्रति हुने कुनै पनि प्रकारका अपमान र उहाँको अस्तित्व मेटाउने प्रयत्न कहिँ कतैबाट भए सो कार्य नेपाल तरुण दललाई सैह्य हुँदैन ।’

‘वीपी कोइरालाको नाममा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कार्यालयमा सुरुवाती अबस्थाबाट राखिएको महामानव वीपी कोइरालाको तस्बिर वर्तमान उपकुलपतिको निर्देशनमा हटाइएको भन्ने समाचार सुन्नमा आएकोले सो कार्य खेदजनक निन्दनीय कार्य हो ।’

‘अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने यस्ता घृणित मानसिकताप्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘हटाइएको उक्त तस्बिर सोही स्थानमा अबिलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रिन बाध्य हुनेछ’, चेतावनी शैलीमा तरुण अध्यक्ष बस्नेतले भनेका छन्, ‘त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्नेछ भन्ने चेतावनी पनि दिन चाहान्छौँ ।’

तीन महिना अगाडि प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका डा.ज्ञानेन्द्र गिरीको निर्देशनमा वीपी कोइरालाको तस्बिर हटाइएको नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका सचेतक केदार कार्कीले बताएका छन् ।

कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको बहुमतको दम्भले आँखा नदेखेको भनेर आरोप लागेका बेला प्रतिष्ठानबाट कम्युनिस्टहरूले वीपीको तस्बिर हटाएर ठूलो अनुशासनहीनता देखाएको कांग्रेसको आरोप छ ।

Published : Sunday, 2020 July 26, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया