गोकुल बास्कोटाको जिल्लामा पूर्वएमालेहरूको भेला, मन्त्रीकै कार्यक्रम पूर्वमाओवादीद्वारा बहिस्कार
बनेपा । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरेका बेला काभ्रेमा पूर्वमाओवादीहरूले मन्त्री सहभागी भएको पार्टीको कार्यक्रम बहिस्कार गरेका छन् ।
शनिबार नेकपाका प्रभावशाली नेता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएको कार्यक्रमलाई दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेता तथा कार्यकर्ताहरूले बहिस्कार गरेका हुन् ।
ओलीका विश्वासपात्र मानिने पूर्वमन्त्री गोकुल बास्कोटाको निर्देशन र खटनपटनमा भेला राखिएको थियो । भेलामा ओली निकट र पूर्वएमालेका नेता तथा कार्यकर्ताहरू मात्रै सहभागी रहेका थिए ।
बास्कोटाको ७० करोड कमिशन काण्डको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट बाहिरिनुपरेको थियो ।
नेकपाको ‘मदन भण्डारी फाउण्डेशन’ काभ्रेले शनिबार भेला आयोजना गरेको थियो । भेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली निकट नेता तथा कार्यकर्तामात्रै सहभागी थिए ।
भेलामा नेकपाका करीव ७ सय नेता कार्यकर्ता सहभागी भएको दाबी गरिएको छ ।
बनेपाको होटल उग्रचण्डीको हलमा आयोजित भेलामा पूर्वमन्त्री आनन्द पोखरेल, गोकुल बाँस्कोटा, पूर्वसांसद रामहरि सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, बसुन्धरा हुमागाइँ, गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघ अध्यक्ष समेत रहेका धुलिखेल नगरप्रमुख अशोक व्याञ्जु लगायत पनौती, बनेपा, नमोबुद्ध नगरपालिकाका प्रमुख र उपप्रमुख सहभागी थिए । उनीहरू ओली निकटका मानिन्छन् ।
नेकपा काभ्रेकी अध्यक्ष रुकु चौलागाइँले फेसबुकमार्फत ‘पार्टीको एकतामा आँच पुर्याउने खालको कुनै पनि क्रियाकलापमा संलग्न नहुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे का सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूलाई अनुरोध गरेकी थिइन् ।
चौलागाइँ तत्कालीन माओवादी केन्द्रकी हुन् । उनी प्रचण्ड निकट मानिन्छिन् ।
नेकपा काभ्रेमा चौलागाइँ अध्यक्ष र तत्कालीन एमालेको तर्फबाट माधवकुमार नेपाल निकट टोकबहादुर वाइबा सचिव छन् । अध्यक्ष चौलागाइँ र सचिव वाइबा कार्यक्रममा सहभागी भएनन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि नेकपा काभ्रे पनि गुटका आधारमा विभाजित छ ।
राष्ट्रिय युवा संघ र अनेरास्वियुको जिल्ला नेतृत्वमा रहेका ओली पक्षका नेता कार्यकर्ताले ‘स्वतन्त्र युवा विद्यार्थी’को नाममा ओलीको पक्षमा बनेपामा प्रदर्शन गरेपछि अर्को समूह चिढिएको छ ।
प्रचण्ड र नेपाल समूहका नेता कार्यकर्ताले जनवर्गीय संगठनका नाममा पार्टी अध्यक्ष र सचिवलाई एकता कायम राख्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
काभ्रेका जनवर्गीय संगठनका नाममा अमुक व्यक्तिले हस्ताक्षर बुझाएको भन्दै ओली निकट समूहले पनि ध्यानाकर्षण पत्र बुझाउन लागेपनि पार्टी अध्यक्ष र सचिव अनुपस्थित भएपछि कार्यलयको भित्तामा टाँसेर फर्किएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया