तरुणको घेराबन्दीमा कम्युनिस्ट सरकार, संगठित भए तरुणहरू

काठमाडौं । नेपाली कांग्रेस तरुण विभागले तरुण युवाहरूलाई मुलुकमा समृद्धि हासिल गर्ने कार्यमा परिचालन गर्न आवश्यक भएको भन्दै आयआर्जन तथा रोजगारी सिर्जनाका कार्यमा लाग्न प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।

काठमाडौंको लाजिम्पाटस्थित कार्यालयमा शनिबार बसेको विभागको पहिलो बैठकले तरुण युवाहरूलाई व्यवसायिक क्रियाकलापमा लाग्नका लागि सहयोग पुर्‍याउन सरकार र निजी क्षेत्रसँग समन्वय गर्ने निर्णय गरेको संयोजक एवम् केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए ।

उनले कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गर्ने, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक लगायतका पर्यटन क्षेत्रको उत्थान गर्ने, घरेलु, साना तथा मझौला उद्योगको विकासमातरुण युवाहरूलाई परिचालन गर्ने निर्णय भएको बताए ।

स्थानीय तहदेखि नै तरुण युवाहरूलाई सक्रिय बनाउँदै लैजाने संयोजक भण्डारीले बताएका छन् ।

‘नेकपाको सरकारले भ्रष्टाचारलाई संस्थागत गर्ने, शक्ति सन्तुलन तथा पृथकीकरणको मान्यताको उपहास गर्ने, न्यायपालिकामाथि हस्तक्षेप गरी न्याय सम्पादनमा प्रभाव पार्नेे, संवैधानिक निकायहरूको स्वायत्तता समाप्त पारी पार्टी र सरकारको स्वार्थ अनुरुप चल्न बाध्य बनाउने लगायतका कार्य गर्नुले मुलुकलाई अधिनायकवादतर्फ धकेल्न उद्धत भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

‘यस्तो अवस्थामा लोकतन्त्र र विधिको शासनलाई जोगाई राख्ने गहन जिम्मेवारी तरुण युवाहरूको काधमा आएकाले सरकारका अलोकतान्त्रिक तथा गैरजिम्मेवार कार्यविरुद्धमा आगाम दिनमा थप सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेकपा नेतृत्वको सरकारको लापरवाहीले देशमा राजनीतिक, धार्मिक र भूगोल लगायतमा बाह्य हस्तक्षेप अनपेक्षित रुपमा बढदै जानुलाई गम्भीरतापूर्वक लिई राष्ट्रिय स्वाभिमान एवम् स्वतन्त्रतामा खेलाँची नगर्न सरकारलाई सचेत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘मुलुकविरुद्धमा हुने वाह्य हस्तक्षेप तथा षडयन्त्रको सम्पूर्ण तरुणयुवाहरूले डटेर प्रतिवादगर्ने निर्णय गरिएको छ’, तरुण विभागका संयोजक भण्डारीले भनेका छन् ।

उनले मुलुकमा कोभिड–१९ का कारण उत्पन्न स्वास्थ्य समस्याले सिर्जना गरेको आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक क्षति निकै विकराल अवस्थामा पुगेको बताएका छन् ।

उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति भइरहको भन्दै जनताको जीवनमा आएका यस्ता कठिन परिस्थिति तथा गम्भिर समस्या समाधान गर्नुपर्ने बेलामा नेकपा नेतृत्वको सरकार सत्ताको लुछाचुँडीमा लाग्दा मुलुक र जनताप्रतिको जिम्मेवारी निर्वाह गर्न पूर्णत असफल भएको जनाएका छन् ।

‘नेपाली जनताको मतको उपहास भएको छ, लोकतन्त्र र उत्तरदायी शासन प्रणालीको धज्जी उडाइएको छ भने सरकारले शासन सञ्चालनको न्यूनतम नैतिकआधार पनि गुमाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘यस्तो विषम परिस्थितिमा आम जनताको जीवन रक्षाका लागि सम्पूर्ण तरुणहरू आ–आफ्नो ठाउँबाट संगठित भएर लाग्न र सरकारका दुश्कर्मको डटेर प्रतिवाद गर्न सम्पूर्ण तरुण युवाहरूमा अपील गर्दछौं’, संयोजक भण्डारीले भने ।

वास्तविकतालाई मनन् गर्दै नेपाली कांग्रेसको नीति, मूल्यमान्यता तथा सिद्धान्त बमोजिम एकतावद्ध भएर राष्ट्र निर्माणको अभियानमा जुट्न सम्पूर्ण तरुण युवाहरूमा विभागका संयोजक भण्डारीले आह्वान गरेका छन् ।

Published : Saturday, 2020 July 25, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया