कांग्रेस नेताहरूको नाममा देशैभरि राष्ट्रिय प्रतियोगिताहरू गर्छौंः सचिव महर्जन

लगनखेल । नेपाली कांग्रेस युवा नेता एवम् कांग्रेसको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनलाई अन्तर युवा मञ्च बसन्तपुरले सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनलाई मञ्चले शनिबार सम्मान गरेको हो । महर्जन नेपाली कांग्रेस खेलकुद विभागको सचिवमा मनोनीत भएकोमा मञ्चले हौसला प्रदान गर्न सम्मान गरेको जनाइएको छ ।

सम्मानित भएपछि सचिव महर्जनले कांग्रेसले ढिलै भएपनि विभागलाई विस्तार गरेर खेलाडी र खेलक्षेत्रलाई सम्मान गरेको बताए । उनले विगतको तिक्तताहरूलाई भुलेर सबै मिलेर जिम्मेवारीअनुसार काम गर्नुपर्ने बताएका छन् ।

महर्जनले आफूहरूको कार्यकालमा स्मरण हुने खालका कार्यक्रमहरू गर्ने बताए । उनले ७ वटै प्रदेशमा कांग्रेसका संस्थापक नेताहरूको सम्झनामा राष्ट्रियस्तरको प्रतियोगिता गरिने बताएका छन् ।

विभागका सचिव महर्जनले वर्षमा एकपटक कांग्रेस सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने योजना रहेको उल्लेख गरे ।

विभागको कार्यालय ५ महिना अगाडि बानेश्वरमा स्थापना भइसकेको छ ।

१३औँ सागगेममा स्वर्ण पदक हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको महर्जनले बताए ।

महर्जनले खेलकुदको क्षेत्रमा विशेष योगदान पुर्‍याएका छन् । खेलकुद ब्याक ग्राउण्ड भएका महर्जन अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् ।

नेपाली कांग्रेसले युवा नेता महर्जनको योगदानको कदर गरेर विभागको सदस्यमा मनोनीत गरेकोमा हौसला प्रदान गर्न सम्मान गरिएको मञ्चका अध्यक्ष गोविन्द बास्कोटाले जानकारी दिए । कार्यक्रमको संयोजक नवराज कुँवर रहेका थिए ।

केही दिन अगाडि नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले महर्जनलाई पाँच महिना अगाडि सचिवमा मनोनीत गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं जिल्लाका सचिव एवम् पूर्व राष्ट्रिय खेलाडी रोमेल श्रेष्ठ, नेपाल तरुण दल ललितपुर क्षेत्र नम्बर २ का सभापति पूर्व राष्ट्रिय किकबक्सिङ च्याम्पियन नवीन्द्रदेब सिंह, कांग्रेस ललितपुर महानगरका सचिव तथा कराते प्रशिक्षक ध्रुव खनाल, बुदोकैदो कराते संघका राष्ट्रिय अध्यक्ष एवम् क्योकुशिन करातेका पूर्व राष्ट्रिय च्याम्पियन काजीमान श्रेष्ठ उपाध्यक्ष द्वारिका श्रेष्ठ लगायत १ सयभन्दा धेरै खेलाडी एवम् खेल क्षेत्रका व्यक्तिहरूको उपस्थित रहेको थियो ।

विभागको संयोजकमा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत रहेका छन् ।

Published : Saturday, 2020 July 25, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया