धादिङमा तरुणको शक्तिशाली कार्यक्रम, तरुणलाई रोके मूल्य चुकाउनुपर्ने चेतावनी

काठमाडौं । नेपाल तरुण दल धादिङले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा देशभरिका तरुणहरूले क्रियाशील सदस्यता दिएर प्रतिनिधि आउनुपर्ने जनाएको छ ।

धादिङबेशीमा शुक्रबार ‘तरुण दर्पण’को बिमोचन र ‘भावी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तरुण र पार्टीका नेताहरूले १४औँ महाधिवेशनमा तरुणहरू नेतृत्व लिन आउनुपर्ने बताएका हुन् । उनीहरूले कांग्रेसमा तरुणहरूको आवश्यक्ता भएको बताए ।

धादिङ तरुण दलका अध्यक्ष गोपाल विश्वकर्माले क्रियाशील सदस्यता वितरणमा तरुणहरूलाई दिन षड्यन्त्र भए नेतृत्वले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

‘तरुणहरूलाई क्रियाशील सदस्यता दिन अबरोध गर्न खोजिएको छ’, उनले भने, ‘धादिङ कांग्रेसको नेतृत्वले परिवारभित्र क्रियाशील सदस्यता वितरण गरेर मैदानमा खटिने तरुणलाई दिइएन भने त्यसको मूल्य चुकाउनुपर्नेछ ।’

तरुण अध्यक्ष विश्वकर्माले नातापातालाई क्रियाशील सदस्यता वितरण गरेर भेदभाव गरिए धादिङ कांग्रेसको महाधिवेशन हुन नदिने चेतावनी दिए ।

धादिङ कांग्रेसको नेतृत्व निरंकुश र गुटको पछाडि लागेर युवा तरुणलाई हेपाहा प्रवृत्ति देखाउने गरेको संकेत गरेका विश्वकर्माले भने, ‘तरुणले प्रचण्डको हेलिकप्टर राख्न नदिएको ठाउँमा कांग्रेस नेतृत्व आफै गएर स्वागत गर्नुभयो । तरुणहरूको अपमान गर्नुभयो ।’

धादिङ कांग्रेसको नेतृत्व सुध्रिएन भने भावी निर्वाचनमा त्यसको असर पर्ने भन्दै तरुण अध्यक्ष विश्वकर्माले पार्टीका नेताहरू मिल्ने हो भने तरुणले गाउँगाउँमा पुगेर पार्टीका सबै उम्मेदवारलाई जिताउने ग्यारेन्टी लिने बताए ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिलमान पाख्रिनले पार्टीभित्रको विवाद मिलाउने हो भने धादिङमा कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । उनले पार्टीमा पोर्टफोलियोका विषयमा आफूले कहिल्यै पनि बखेडा नगरेको बताए ।

पाख्रिनले धादिङ कांग्रेसको नेतृत्वलाई सुध्रिन सुझाव दिएका छन् । पूर्वसांसद एवम् पूर्व सभापति रामनाथ अधिकारीले पार्टीभित्रको विवादलाई मिलाउनै पर्ने बताए ।
उनले तरुण दलबाट भए गरेका गल्तीलाई आगामी दिनमा दोहोर्‍याउन नहुने बताए ।

धादिङ कांग्रेसका पूर्वसभापति अधिकारीले कांग्रेसको नेतृत्व कार्यक्रमै छाडेर जाने कार्यले राम्रो सन्देश नदिने बताए ।

शिवहरि अधिकारी, हरि अधिकारी, राजाराम कार्की, भीम ढुंगानालगायतले पार्टीभित्रको विवाद समाधान नगर्ने हो भने कम्युनिस्टसँग लड्नका लागि नैतिक संकट पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र उपाध्यक्ष उत्तम चापागाइँ सहभागी भएर शुभकामना दिएका थिए ।

 

Published : Saturday, 2020 July 25, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया