विभागद्वारा तरुण केन्द्रीय समितिसँग परामर्श, देशभरिका तरुणलाई सक्रिया बनाउने सहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय तरुण विभागका संयोजक शंकर भण्डारीले नेपाल तरुण दलसँग देशभरिका तरुण युवाहरूलाई परिचालन गर्ने विषयमा परामर्श गरेका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित पानीपोखरीमा रहेको विभागको कार्यालयमा बिहीबार संयोजक भण्डारीले तरुण दलका अध्यक्ष जितजंग बस्नेतल, उपाध्यक्ष उत्तम चापगाइँ कोषाध्यक्ष विद्वान गुरुङसँग परामर्श गरेका हुन् ।

संयोजक भण्डारीले तरुण दलको केन्द्रीय कार्यसमितिसँग तरुणहरूलाई कसरी सक्रिय बनाउने विषयमा छलफल गरेको उपाध्यक्ष चापागाइँले जानकारी दिए ।

उनले मुलुकमा झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार रहेको र कोरोना लगायत बेथितिका कारण जनताले समस्या भोगिरहेको सन्दर्भमा कसरी तरुणहरूलाई परिचालन गर्ने भन्ने विषयमा कुराकानी भएको बताए ।

‘कम्युनिस्ट सरकार मनपरी ढंगले हिँडेको छ’, चापागाइँले भने, ‘यस्तो अवस्थामा यो सरकारलाई सहि बाटोमा हिँडाउने दायित्व तरुणहरूको काँधमा आएको छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका संयोजक भण्डारीले तरुण दल र विभागलाई पूर्णता दिएर देशभरिका तरुणलाई कांग्रेसको संगठन निर्माण र रचनात्मक कार्यमा लगाउने विषयमा निर्देशन दिएका छन् । उनले कांग्रेसको १४औँ महाधिवेशनलाई सफल बनाउन तरुणहरूको ठूलो भूमिका रहने बताएका छन् ।

तरुण दलका अध्यक्ष बस्नेतले पार्टीलाई सहयोग गर्न देशभरिका तरुणहरू तयारी अवस्थामा रहेको भन्दै दैविक विपत्तिमा तरुणहरू उद्धार र राहत वितरणमा सक्रियताका साथ क्रियाशील रहेको बताए ।

उनले कोरोना महामारीका बेला जनताको जीवन रक्षाका लागि सरकारलाई दवाव दिन तरुणहरू सक्रिय हुनुपर्ने धारणा राखेको उपाध्यक्ष चापागाइँले जानकारी दिए ।

तरुण विभागका संयोजक भण्डारीले कार्यालय स्थापना गरेपछि तरुण दलको केन्द्रीय कार्यसमितिसँग पहिलो पटक परामर्श गरेका हुन् ।

Published : Thursday, 2020 July 23, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया