गोकुल बास्कोटाका शक्तिशाली नेता कांग्रेसमा प्रवेश, देउवा आफैले दिए सदस्यता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का काभ्रेपालाञ्चोक जिल्लाका लोकप्रिय नेता हीरा लामा घिसिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
३८औं वीपी कोइराला स्मृति दिवसका अवसरमा घिसिङ केही युवाहरूसहित कांग्रेसमा प्रवेश गरेको काभ्रे कांग्रेसका तरुण नेता गुमानसिंह लामाले जानकारी दिए ।
नेकपा परित्याग गरेका घिसिङसहितका नेताहरू तथा कार्यकर्ताहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंको बुढानिलकण्ठमा मंगलबार आयोजित विशेष कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । देउवाले घिसिङसहितका नेताहरूलाई पार्टीको सदस्यता दिएका छन् ।
सभापति देउवाले कांग्रेस प्रवेश गरेका सबैलाई योग्यता र क्षमताका आधारमा पार्टीमा जिम्मेवारी दिइने बताए । उनले कांग्रेसलाई बलियो बनाएर देश र जनताको विकास गर्नुपर्ने उल्लेख गरेको युवा नेता लामाले जानकारी दिए ।
घिसिङ ०४६ सालदेखि वामपन्थी बिचारमा अबद्ध हुँदै आएका थिए । ०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट घिसिङ साबिक मेच्छे गाउँ विकास समितिको वडा नं. ६ मा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा छाडेर कांग्रेस प्रवेश गरेका घिसिङले कम्युनिष्ट पार्टीबाट जनताले आकांक्षा गरेका कार्यहरू पूरा हुन नसकेको बताए । उनले कम्युनिस्टहरूका कारण मुलुकमा बेथिति भएको भन्दै देश र जनताका लागि आफू लोकतान्त्रिक पद्धतिको विचार र विधिलाई अंगाल्न कांग्रेस पार्टी प्रवेश गरेको बताए ।
घिसिङले कम्युनिस्टहरूलाई आफूले दिएको योगदान स्खलित हुन पुगेको बताए । उनले कम्युनिस्टहरूलाई जनताले विश्वास गरेर झण्डै दुईतिहाइको बहुमत दिएको बताउँदै त्यो जनमतको अबमूल्यांकन गरेको उल्लेख गरे ।
कम्युनिस्टहरूको चरित्रबाट सबै कुरा छर्लङ्ग बाहिर आएको बताएका घिसिङले भने, ‘अबको दिनमा युवाहरूलाई कांग्रेसमा आबद्ध हुन मै आफैले आह्वान गर्नेछ । कांग्रेसको संगठन विस्तारमा काम गर्नेछु ।’
सभापति देउवाले कम्युनिष्टले जनतालाई समस्या र दुःख मात्र दिएको हुनाले समयमा नै सर्तक हुन आह्वान गरेका छन् ।
देउवाले नेपाली कांग्रेस जस्तो ऐतिहासिकता बोकेको पार्टीमा प्रवेश गरेका घिसिङसहितका नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्दै धन्यवाद दिएका छन् । देउवाले नेपाली कांग्रेसमा प्रवेश गर्ने सबैलाई सदस्य समेत प्रदान गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रमको संयोजन नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद तीर्थ लामाले गरेका थिए । पूर्वसांसद लामाले कम्युनिष्टको कार्यशैलीबाट जनतालाई ठूलो असर हुने काम मात्र भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, कांग्रेस नेता सलामसिं तामाङ लगायतका काभ्रेपलाञ्चोक कांग्रेसका नेताहरूको उपस्थिति रहेको थियो ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाका नेता घिसिङले नेकपा पार्टी छाडेपछि काभ्रेपलाञ्चोकमा
कम्युनिस्टहरूभित्र खैलाबैला भएको छ । ७० करोड कमिशन काण्डको अडियो सार्वजनिक भएपछि बास्कोटाको मन्त्री पद फुत्किएको थियो । घिसिङले बास्काेटालाई जिताउन विशेष भूमिका समेत खेलेका थिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया