वीपीको आदर्श र दर्शन युवा तरुणहरूले सिक्नुपर्छः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले वीपी कोइरालाले देखाउनु भएको बाटोलाई तरुण युवाहरूले अनुसरण गर्नुपर्ने बताएका छन् ।

नेपाल तरुण दल भक्तपुर सूर्यविनायक नगर कार्यसमिति वडा नम्बर ९ ले नलिन्चोक नजिकैको सरकारी जंगलमा मंगलबार ३३औँ वीपी कोइराला स्मृति दिवसका अवसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा विशेष अतिथिका रुपमा सम्बोधन गर्दै सभापति थापाले वीपी कोइरालाको आदर्शका कारण कांग्रेस सबै जनताको मनमा बस्न सकेको बताए ।

उनले युवा तरुणहरूमा वीपीको आदर्श र कांग्रेसको सिद्धान्तका विषयमा जानकारी गराउनुपर्ने बताए ।

वीपी कोइरालाको ३३औँ स्मृति दिवसका दिन पार्टीभित्र रहेका तिक्तताहरूलाई भुलेर आजैका दिनदेखि सबै नेताहरू मिलेर अगाडि बढ्नुपर्ने सभापति थापाले बताए । उनले केही तिक्तताहरू छन् भने पनि शीर्ष नेतृत्व मिलेर समाधान गर्नुपर्ने बताए ।

भक्तपुर कांग्रेसका सभापति थापाले तरुणहरूबाट गरिएको रचनात्मक कार्यको प्रशंसा गरे । उनले युवा तरुणहरूले पार्टी मात्रै नभइ देश नै हाँक्नुपर्ने भन्दै त्यसका लागि अहिलेदेखि नै जोश र जाँगरका साथ काम गर्न निर्देशन दिए ।

वृक्षारोपण कार्यक्रममा सभापति थापाका साथै कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, सूर्यविनायक नगर वडा नम्बर ९ का अध्यक्ष भगवान केसीलगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न जातका विरुवाहरू कांग्रेस नेता र तरुणहरूले रोपेका थिए ।

यसअघि, सभापति थापाले नेपाली कांग्रेस भक्तपुरकाे पार्टी कार्यालय सल्लाघारीमा वृक्षाराेपण र वीपी काेइरालाकाे तस्बिरमा माल्याणर्पन गरेका थिए ।

Published : Tuesday, 2020 July 21, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया