तरुण केन्द्रीय समितिद्वारा अनाथ बालबालिकालाई फलफूल र स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले ३८औँ वीपी स्मृति दिवसको अवसरमा अनाथ बालबालिकालाई फलफूल तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङले फलफूल तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । तरुण दलका अध्यक्ष बस्नेतले वीपी कोइरालाको स्मृतिमा तरुण केन्द्रीय कार्यसमितिको तर्फबाट काठमाडौंमा सामाजिक कार्य गरेको बताए ।

तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले केन्द्रीय कार्यालयमा वीपी काेइरालाकाे तस्बिरमा माल्यार्णपन पनि गरेका थिए ।

वीपी कोइरालाको स्मरणमा देशभरिका तरुणहरूले विभिन्न कार्यक्रम गरिरहेका बेला केन्द्रीय कार्यसमितिले पनि आफ्नो तर्फबाट सानो रचनात्मक कार्य गरेको बस्नेतले बताए ।

उनले तरुण दलका जिल्ला कार्यसमितिहरू र मातहतले आ–आफ्नो तर्फबाट वृक्षारोपण, सरसफाइसहितका रचनात्मक कार्यक्रमहरू गरेको जानकारी दिएका छन् ।

तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले प्रतिकूल मौसमका बाबजुद पनि देशभरिका तरुणले विभिन्न कार्यक्रमहरू गरेको बताए ।

कोषाध्यक्ष विद्वान गुरुङ नेपाली कांग्रेस र तरुण दललाई क्रियाशील बनाउने दायित्व सबैको रहेको भन्दै सबैले देशभरि कार्यक्रमहरू गरेको बताए ।

तरुण दल केन्द्रीय कार्यसमितिले काठमाडौंको कुलेश्वरमा रहेको बाल संरक्षण अभियान नेपालका बालबालिकालाई फलफूल, मास्क, स्यानिटाईजर, साबुनलगायतका सामग्री वितरण गरेको छ ।

सो कार्यक्रममा ललितपुरस्थित नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को समन्वय तथा नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वकेन्द्रीय सदस्य रवि थापाले सहयोग गरेका थिए ।

कार्यक्रममा तरुण नेता एवम् समाजसेवी विजय केसीको पनि सहभागिता रहेको थियो ।

Published : Tuesday, 2020 July 21, 2:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया