लेकफाँटमा राहत बोकेर पुगे कांग्रेसका युवा नेता मल्ल, निमुखा र गरिवको साथी बने

पर्वत । नेपाली कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले लेकफाँटका तीन सय दश परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

दाताको सहयोगमा उपलब्ध खाद्यान्न शुक्रबार जलजला गाउँपालिकाको वडा नम्बर ५, लेकफाँटमा वितरण गरेका हुन् ।

लकडाउनका कारण समस्यामा परेका अति विपन्न र श्रमिक वर्गलाई गुजारा गर्न समस्या भएपछि कांग्रेसका युवा नेता मल्लले राहत संकलन गरेर वितरण गरेका हुन् ।

हिमालयन बालकल्याण मञ्चको सहयोगमा उपलब्ध भएको उक्त खाद्यान्न अध्यक्ष मल्लले शुक्रबार लेकफाँट पुगेर वितरण गरेका छन् ।

वितरण भएको खाद्यान्नअन्तर्गत प्रतिपरिवारलाई ४० किलो चामल, चार किलो दाल, तीन लिटर तेल र दुई किलो नुन वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

कांग्रेसका युवा नेता एवम् अध्यक्ष मल्लले कोरोना भाइरसको महामारीबाट आक्रान्त भएका र लकडाउनका कारण श्रम गर्नबाट बञ्चित भएका दलित तथा विपन्न वर्गको समस्या समाधान गर्न विभिन्न संघसंस्थामार्फत राहत वितरण गरिएको बताए ।

महामारीका बेला खाद्य सामग्री उपलब्ध गराउन दाताहरूलाई मल्लले धन्यावाद दिएका छन् ।

अध्यक्ष मल्लले गाउँपालिकाभित्रका अति विपन्न, दलित र कमजोर आय भएका समुदायलाई राहत वितरण गरेको बताए ।

उनले आउँदा दिनमा अन्य वडाहरूमा समेत यस्ता राहतका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले हालसम्म १२ सय ८० परिवारलाई राहत सामग्री वितरण गरिसकेको बताए ।

कार्यक्रममा जलजला गाउँपालिकाको वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष भीष्म मल्ल, गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् कांग्रेसका युवा नेता यम शर्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।

यसअघि, अध्यक्ष मल्लले दातामार्फत उपलब्ध खाद्यान्नहरू विभिन्न स्थानमा वितरण पनि गरेका छन् ।

जलजला गाउँपालिकाका वडा नम्बर २, ४, ५ र ७ नम्बर वडाका आठसय विपन्न परिवारलाई लक्षित गरि ३० लाख रुपियाँको खाद्यान्न वितरण शुरु गरेका छन् ।

लकडाउनका बेला कांग्रेस नेता मल्लले स्वास्थ्य सामग्रीदेखि खाद्यान्नहरू वितरण गरेका थिए ।

Published : Friday, 2020 July 17, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया