बेलाबेला उत्पात मच्चाउँदै आएका थापाले शक्ति देखाए, छोरालाई मान्छे कुट्न पठाए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार विज्ञप्ति जारी गरेर पूर्वसांसद समेत रहेका थापाले प्रकाश तिमल्सिनालाई अभद्र व्यवहार गरेको जनाएको छ ।

मञ्चले पूर्व अध्यक्ष थापा र उनका छोरा अभिषेक थापाले ‘हाम्रो खेलकुद डटकम’का सम्पादक तिमल्सिनामाथि अभद्र व्यवहार भएको जनाएको छ ।

बिहीबार तिमल्सिनाले समाचारका लागि पूर्व अध्यक्ष थापासँग फोन वार्ता गरेका थिए ।

वार्ताका क्रममा थापाले तिमल्सिनालाई गाली गलौजसहित अभद्र व्यवहार गरेको मञ्चले जनाएको छ । सो घटनाको मञ्चले भर्त्सना गरेको छ ।

पूर्वअध्यक्ष थापाका छोरा अभिषेकले कार्यलय परिषरमै गएर वादविवाद गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र व्यवहारको जति निन्दा गरे पनि पुग्दैन’, मञ्चका महासचिव प्रज्वल ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बेलाबेला विवादमा आइरहने पूर्वअध्यक्ष थापा सानो कुरामा पनि आबेगमा आउने गर्छन् ।

सांसद रहेका बेला सार्वजनिक लेखा समितिको बैठकमा पनि सांसदहरूलाई अभद्र व्यवहार गरेका थिए । एन्फाको भ्रष्टाचारको छानविन हुँदा थापा रिसले आगो भएका थिए ।

Published : Friday, 2020 July 17, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया