राजधानीमा समुदायमा कोरोना भेटिएन, काठमाडौंसहित १०१ मा संक्रमण, एकको मृत्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार १०१ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १०१ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए ।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालको नमूना परीक्षणमा काठमाडौंका एक जनामा कोरोना पोजेटिभ भेटिएको छ । काठमाडौंकै अर्का एकजना रेड जोनमा परेका छन् ।

शुक्रबार पछिल्लो २४ घण्टामा २८५ जना कोरोना संक्रमितहरू निको भएर डिस्चार्ज भएका छन् ।

यसैबीच, पाँच जिल्ला कोरोना भाइरसको संक्रमण मुक्त रहेको प्रवक्ता डा.गौतमले बताएका छन् । भोजपुर, संखुवासभा, मनाङ मुस्ताङ र हुम्ला जिल्लामा कुनै पनि सक्रिय संक्रमित नरहेको उनले बताए ।

मन्त्रालयका प्रवक्ता डा.गौतमले राजधानी उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण नदेखिएको बताए । उनले भिडभाड भएको स्थानमा गरिएको नमूना परीक्षणमा जम्मा तीन जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

पोजेटिभ देखिएका तीन जनामध्ये पनि दुई विदेशबाट आएका हुन् भने एक जना व्युटी पार्लर सञ्चालक रहेको डा.गौतमले बताए ।

प्रवक्ता डा.गौतमले लकडाउन नखुलेको बताएका छन् । उनले राजधानीभित्र लकडाउन खुले जसरी भिडभाग हुन थालेको भन्दै सर्तक रहन अपील गरेका छन् ।

यसैबीच, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको निधन भएको प्रवक्ता डा.गौतमले बताए ।

सप्तरी जिल्लाको राजविराज नगरपालिका निवासी ७३ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा निधन भएको उनले बताए ।

Published : Friday, 2020 July 17, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया