कार्यकर्ताको भावनाअनुसार कांग्रेसको बोल्ड निर्णय, जिल परे ओली–दाहाल–नेपाल

काठमाडौं । नेपाली कांग्रेसले जनताले निर्वाचनमा दिएको म्याण्डेटलाई पाँच वर्षसम्म पालना गर्ने भन्दै सत्तामा जाने बाटो बन्द गरिदिएको छ ।

सोमबार ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पाँच वर्ष अगाडि सत्तामा जाने कुनै योजना नरहेको निर्णय गरेको हो । कांग्रेसको यो निर्णयले पार्टी विभाजन गरेर रमाउन खोज्ने सत्तारुढ नेकपाका सीमित शीर्ष नेताहरूलाई झट्का लागेको छ ।

‘सत्तारूढ दल नेकपाको आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग नेपाली कांग्रेस निरपेक्ष रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘गत निर्वाचनमा नेपाली जनताले दिएको म्याण्डेड बमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

‘सत्ताद्वन्द्वसंग नेपाली कांग्रेसलाई जोडेर गरिएका प्रचारहरूलाई यो बैठक सम्पूर्ण रुपले खारेज गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको बिषयलाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

‘संसदमा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्तावहरू विचारधीन रहेको तथ्यलाई नजरअन्दाज गरि, संसदको चालू बैठक आह्वान र अन्त्य गर्ने निश्चित पद्धति र परम्परा उल्लंघन गरेर अधिवेशन स्थगित गरिनु अत्यन्त आपत्तिजनक छ ।’

नेकपाभित्रको विवादमा नेकपाका नेता र नेकपा निकटका सञ्चारमाध्यमले कांग्रेस सत्तामा जान तयार भएको र गृह तथा अर्थ मन्त्रालय माग गरेको भनेर बद्नाम गर्न खोजिएको थियो ।

कांग्रेसको यो निर्णयले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओली, दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई झट्का लागेको छ ।

Published : Monday, 2020 July 6, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया