प्रचण्डका मान्छेले कांग्रेसको बद्नाम गर्न खोजेपछि विश्वप्रकाशद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख विपक्षी दलसँग सत्तापक्षका नेताहरूले सम्वाद गरेको विषयलाई अन्यथा लिन नहुने बताएका छन् ।

उनले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री खड्गप्रसाद ओली तथा अन्य नेताहरूबीच भएको सम्वादलाई सत्तासँग जोडेर हेरिएकोमा असन्तुष्टि जनाए । उनले कांग्रेस प्रतिपक्ष दल भएकोले सरकारमा जाने भन्ने कुनै तयारी वा योजना नरहेको बताए ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएको वार्तालाई लिएर विभिन्न आशंका गरिएकोमा चिन्ता जनाए ।

‘सत्तारुढ दल र प्रधानमन्त्री जस्तो व्यक्तिले प्रमुख विपक्षी दलको नेतालाई भेट्ने विषयमा अन्यथा लिनु हुँदैन’, उनले भने, ‘हो बरु प्रधानमन्त्रीजीले विपक्षी दललाई देखाएर पार्टीभित्रको विवादमा खेल्न खोज्नु हुन्छ भने त्यो कांग्रेसलाई स्वीकार्य छैन ।’

कांग्रेसका प्रवक्ता शर्माले नेकपाभित्रका विवाद सतहमा पुग्दै गर्दा कांग्रेसलाई गृह र अर्थ मन्त्रालय दिने विषयमा सहमति भयो भनेर आएका समाचारमा कुनै सत्यता नभएको बताए ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का खास मान्छे एवम् नेकपाका केन्द्रीय सदस्य ओम शर्माको अनलाइनले ओली निकटका सुवासचन्द्र नेम्वाङले देउवासँग भेटेर गृह र अर्थ मन्त्रालय दिने सहमति भयो भने समाचार लेखेको थियो । त्यस लगत्तै कांग्रेसका प्रवक्ता शर्माले यस्ता हावा समाचारका पछाडि नलाग्न सचेत गराएका हुन् ।

‘नेकपाभित्र विवाद चलेको छ । उहाँहरू समस्याको समाधानमा लागिरहनुभएको छ । एक प्रकारको विवाद बाहिर आएको छ’, शर्माले भने, ‘कांग्रेससँग सम्बन्ध नै नरहेको कुरामा जबरजस्ती यो वा त्यो मन्त्रालय लिने सहमति भयो भन्ने कुरा आउनु सरसर गलत छ ।’

प्रवक्ता शर्माले कांग्रेस दोस्रो ठूलो दल भएका कारण मुलुकको पछिल्लो राजनीतिबाट जानकार छैन भन्ने कुरामा भन्नु गलत हुने उल्लेख गरे । उनले भने, ‘सभापतिजीले केन्द्रीय कार्यसमितिको बैठकमा नेकपाका दुबै पक्षका नेताहरूसँग कुरा भएको जानकारी गराउनुभएका छ ।’

कांग्रेसका प्रवक्ता शर्माले कांग्रेसलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस भनेर निर्देशन दिएको भन्दै सत्तामा जाने कुरासँग जोड्नु उचित नहुने बताए ।

Published : Monday, 2020 July 6, 7:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया