दुईतिहाइका कम्युनिस्टहरूले मागे कांग्रेसको साथ, ‘रेणु दाहाल काण्ड’ हुन नदिन खबरदारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले आफूलाई भेट गरेर सहयोग माग गरेको बताएका छन् ।
ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले नेकपाका दुबै पक्षका नेताहरूले भेट गरेको बताएका हुन् । उनीहरूलाई आफूले कुनै पनि बचन नदिएको बताएका छन् ।
नेकपाभित्र प्रधानमन्त्री एवम् अध्यक्ष खड्गप्रसाद ओलीको राजीनामा दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितको समूहले माग गर्दै आएको छ ।
दुबै पक्षका नेताहरूले देउवालाई भेट गरेर पार्टी विभाजन भयो भने मिलेर सरकार बनाउन प्रस्ताव गरेको स्रोतहरूको भनाइ छ ।
बैठकमा धारणा राख्ने नेताहरूले कम्युनिस्टहरूको पछाडि लागेर देश र जनतालाई धोका दिन नहुने नेतृत्वलाई सुझाव दिएका छन् । विगतमा भरतपुर महानगरपालिकाको निर्वाचनमा कांग्रेसले माओवादीकी रेणु दाहाललाई सहयोग गर्दा कांग्रेसलाई प्रचण्डबाट ठूलो धोका भएको भन्दै अबका दिनमा विचार गरेर अगाडि बढ्न नेताहरूलाई सुझाव दिइएको छ ।
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीभन्दा पनि प्रचण्ड अविश्वासी र धोकेबाज रहेको भन्दै कांग्रेस नेताहरूले कम्युनिस्टहरूको मीठा कुरामा फस्न नहुने नेतृत्वलाई सचेत गराएका छन् ।
यसैबीच, कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिकामा छलफल भएको छ । छलफल समाप्त नभएकाले असार २२ गते दिनको २ बजे केन्द्रीय कार्यसमितिको बैठक पुनः बस्ने गरी स्थगित भएको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सह–महामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू डा.रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा.नारायण खड्का, डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, अर्जुनप्रसाद जोशी, दीपक गिरी, नवीन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, श्यामकुमार घिमिरे र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया