बिहे गरेर आउनेवित्तिकै विदेशी महिलालाई नागरिक्ता दिने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विदेशी महिलालाई विवाह गरेर आउनेवित्तिकै अंगीकृत नागरिकत दिनुपर्ने निर्णय गरेको छ ।

सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले विदेशी महिलाले पाउने वैवाहिक नागरिकता सात वर्ष पाउने प्रस्तावको विपक्षमा उभिने निर्णय गरको हो ।

‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था विपरित र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यता विपरित छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘यस्तो संशोधनको कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरु समेत सृजना हुन सक्ने प्रबल सम्भावना रहन्छ’, कांग्रेसले भनेको छ ।

‘यस सम्बन्धमा राज्य व्यवस्था समितिमा पार्टीको तर्फबाट नेपाली कांग्रेसका माननीय सांसदहरुले फरक मत राखी सक्नु भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक सरकारले प्रस्तुत गरेको संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गर्दछ’, कांग्रेसले भनेको छ ।

‘यसै अनुसार संसदमा प्रस्तुत हुन यो बैठक नेपाली कांग्रेस संघीय संसदीय दललाई निर्देश गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत दिनुपर्ने प्रस्तावमा कांग्रेसले विपक्षमा उभिने निर्णय गरेसँग अब भारतीय महिलाहरूले नेपालमा विवाह गरेर आएकै दिन नागरिकता पाउनेछन् ।

Published : Tuesday, 2020 June 30, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया