भारतीय महिलालाई नागरिकता माग गरेर मधेस केन्द्रित दलहरूले आन्दाेलन गर्ने

काठमाडौं । मधेस केन्द्रित दलका सांसदहरूले भारतीय महिलालाई विवाह गरेर आउनेवित्तिकै नागरिकताको माग गरेका छन् ।

संसदको मंगलबार बसेको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीका सांसदहरूले भारतीय महिलालाई विवाह गरेर आउनेवित्तिकै अंगीकृत नागरिकता दिनुपर्ने माग गरे । उनीहरूले भारतीय महिलालाई नागरिकता नदिए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद महिन्द्र राय यादवले भारतीय महिला विवाह गरेर नेपाल आउँदा वैवाहिक अंगीकृत नागरिकता तत्काल दिनुपर्ने बताए ।

उनले मधेस आन्दोलनका बेला भएको सहमति विपरित राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय महिलालाई नागरिकता लिन सात वर्ष पर्खिनुपर्ने व्यवस्था आफूहरूलाई मान्य नहुने बताए ।

उनले भारतीय महिलालाई सात वर्ष नागरिकता लिन पर्खिनुपर्ने निर्णय भएमा आफूहरू सडक आन्दोलन गर्ने चेतावनी दिए ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले विवाह गरेर आउने भारतीय महिलालाई तत्काल नागरिकता दिनुपर्ने माग गरे । उनले नागरिकता भएन भने पानी पनि खान नपाउनेभन्दै भारतीय महिलाहरूलाई नागरिकताको माग गरे ।

उनले भारतीय महिलालाई नागरिकता दिन सात वर्षसम्म पर्खिनुपर्ने व्यवस्था गर्न खोजेर भारतीय महिलामाथि अन्याय गरेको बताए । उनले यस्तै अवस्था भयो भने सडक आन्दोलन गर्ने चेतावनी दिए ।

Published : Tuesday, 2020 June 23, 2:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया