नेकपाकै सांसदले सरकारको भ्रष्टाचार उदाङ्गो पारिदिए, कम्युनिस्ट मुख्यमन्त्रीलाई तनाब

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनिने राजिव गुरुङले भ्रष्टाचार भएको र रोक्न सक्ने अधिकार नरहेको भन्दै अर्थ तथा विकास समितिको सदस्य पदबाट राजीनामा दिएका छन् ।

विगतमा ‘गुण्डा नाइके’ पृष्ठभूमिका मनाङ्गेले समितिको कार्यकारी अधिकार नभएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

मनाङ्गेकै दल नेकपाले गण्डकी प्रदेशमा सरकार बनाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ छन् । भ्रष्टाचारविरुद्ध मनाङ्गेको राजीनामाले कम्युनिस्ट मुख्यमन्त्री गुरुङको प्रदेश सरकारमाथि नैतिक दवाव परेको छ ।

समितिबाट राजीनामा दिने संस्कृति नभएपनि मनाङ्गेले आइतबार समितिका सभापतिलाई सम्बोधन गरेर राजीनामा दिएको समितिका सभापति दीपक कोइरालाले जानकारी दिएका छन् ।

विभिन्न ठाउँमा भ्रष्टाचार मौलाएको रंगेहात पक्राउ गर्दा पनि कार्वाही गर्न समितिले नसक्ने स्थिति देखेकाले आफूले पदबाट राजीनामा दिएको नेकपाका प्रदेश सांसद मनाङ्गेले बताएका छन् ।

उनले अब आफू कुनैपनि समितिमा नबस्ने बताएका छन् । ‘म अब कुनैपनि समितिमा बस्दिन’, गुरुङले भने, ‘सांसद पदबाहेक अन्य पदको अर्थ रहेनछ, त्यसैले म अब मलाई समिति सदस्य हुनु छैन ।’

समितिको सदस्य पदबाट राजीनामा दिएपछि मनाङ्गे राति नै काठमाडौं पुगेका छन् । उनले आफूलाई सांसद बनाउने नेतालाई भेटेर राजीनामा बारे जानकारी गराएको बताएका छन् ।

तत्कालीन एमालेको सहयोगबाट मनाङ जिल्लाबाट प्रदेश सभामा स्वतन्त्रबाट निर्वाचित भएका मनाङ्गे केही महिना अगाडि नेकपामा प्रवेश गरेका थिए ।

Published : Tuesday, 2020 June 23, 9:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया