कोरोना र भोकले जनता मरिरहेका बेला कम्युनिस्ट सरकारका मन्त्रीको अर्को हर्कत बाहिरियो
काठमाडौं । कोरोनाभाइरसको महामारीबाट जनता प्रताडित भइरहेका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाका नाममा फेरि फजुल खर्च गरेको छ ।
कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा पटक–पटक घोटाला भएका समाचार आइरहेका छन् । ओम्नीदेखि नेपाली सेनाले खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्य जमीन आसमानका भिन्नता भएका समाचार तथ्यसहित बाहिर आइसकेका छन् । तैपनि कम्युनिस्ट सरकार र स्वास्थ्यमन्त्रीले आफ्नो व्यवहारलाई सुधार गर्ने कुनै छाटकाट देखाएका छैनन् ।
कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा भइरहेको फजुल खर्च रोक्नुको साटो चोरबाटोहरूबाट धमाधम खर्च गरिरहेका तथ्य बाहिर आएका छन् ।
मन्त्री ढकालले कोभिड–१९ महामारी र हाम्रो प्रयास नामक किताब छापेका छन् । मन्त्री ढकालको निर्देशनमा मन्त्रालयको स्टोर शाखाले किताब छापेको छ ।
कोरोनाको संक्रमणबाट बच्नका लागि भन्दै सरकारले लकडाउन गरेर जनतालाई घरभित्र थुनेर राखेको छ ।
जनताहरू खान नपाएर भोकै मर्न थालेका छन् । क्वारेन्टाइनमा पिउने पानीको उचित व्यवस्था पनि छैन । खान र बस्न समेत समस्या भइरहेका छन् ।
यस्तो अवस्थामा कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले कोरोनामा मन्त्रालयले गरेको प्रयासहरूलाई समेटेर लाखौँ रुपियाँ खर्च गरेर मोटो किताब निकालेका छन् ।
अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा जेठ १५ गते प्रतिनिधि सभामा पेस गरिएको आर्थिक वर्ष ०७७–७८ को बजेटमा फजुल खर्च रोक्ने भनेका थिए । तर, अर्थमन्त्रीको त्यो फजुल खर्च रोक्ने नारालाई स्वास्थ्यमन्त्री ढकालले उडाइदएका छन् ।
जनतालाई घरभित्र थुनेर लकडाउनका बेला तपाईहरूले फुजुल खर्च गरेर किन किताब छपाइ गर्नुभयो भनेर स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवलाई सोधिएको प्रश्नमा उनले भने, ‘यसबारेमा मलाई थाहा छैन । स्टोर शाखालाई थाहा होला । उतै सोध्नुस् ।’
सूचना अधिकारी श्रीवास्तवले किताब छापाइका बारेमा आफूलाई कुनै जानकारी नरहेको र खर्चको विषयमा पनि थाहा नभएको बताए ।
सूचना अधिकारीको जवाफपछि स्टोर शाखाका प्रमुख प्रेम विश्वकर्मालाई सोधिएको प्रश्नमा जवाफ आयो, ‘मलाई थाहा छैन । सूचना अधिकारीलाई सोध्नुस् ।’
सूचना अधिकारी श्रीवास्तवले तपाईलाई सोध्न भन्नुभएको छ भनेर सोधिएको प्रश्नमा स्टोर प्रमुख विश्वकर्माले भने, ‘मलाई पनि जानकारी छैन । सूचना चाहिएकै छ भने सूचनाको हक प्रयोग गरेर नागरिकताको प्रतिलिपिसहित निवेदन दिनुस् । त्यसपछि के गर्ने त्यसपछि भनौँला ।’
स्रोतका अनुसार राजनीतिक दवावमा किताब छापाइको जिम्मेवारी सनराई प्रिन्टिङ प्रेसलाई दिइएको छ । एक हजार किताब छपाइ गर्न प्रेसलाई अधिकार दिइएको थियो ।
प्रेसले १२ सय ५० वटा किताब छापाइ गरेर मन्त्रालय पुर्याइदिएको छ ।
कोरोना भाइरस नियन्त्रणका नाममा कम्युनिस्ट सरकारले साढे दुई महिनामा झण्डै दश अर्ब सिध्याएपछि सार्वजनिक लेखा समितिले बयानका लागि बोलाएको छ । दर्श अर्ब खर्चको विरोध भइरहेको छ ।
अर्थमन्त्रीले फजुल खर्च रोक्न भनेका छन् । तर, राजनीतिक र उच्च तहको तहबाट दवाव दिएर आफ्ना मान्छेहरूलाई पोसाउन किताब छाप्ने बहानामा रकम खर्च भएका छन् ।
किताब छाप्नै पर्ने थियो भने पनि मुद्रण विभाग वा जनक शिक्षा सामग्रीलाई दिएको भए पनि हुने थियो । तर, निजी प्रेसलाई नै दिइयो ।
जनता रोग र भोकले मरिरहेका बेला कम्युनिस्ट सरकारका स्वास्थ्य मन्त्री ढकालले भने फजुल खर्च गरेर कार्यकर्ता पोसाउने कार्य गरिरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया