बिहीबार देशभरिमा ६७१ जनालाई कोरोना, काठमाडौं उपत्यकामा ६ जना भेटिए

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरि सरकारले लकडाउनलाई खुकुलो बनाएका बेला विगत २४ घण्टामा ६७१ जनामा कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकासहित देशभरि कोरोनाका संक्रमितहरूको संख्या बढेको हो । यो संख्या अहिलेसम्मकै उच्च रहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या बिहीबारसम्म ७ हजार ८ सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

तीमध्ये १ हजार १८६ जना निको भएका छन् । २२ जनाको मृत्यु भएको छ । मन्त्रालयले थप दुई जना अहिले फेला परेका संक्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन् ।

बिहीवार मन्त्रालयले पुष्टि गरेका दुई मृतकमध्ये एक महिला र एक पुरुष छन् । उनीहरू कैलालीका हुन् । तीमध्ये ४६ वर्षीय पुरुषलाई जेठ ३१ गते नै संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा भर्ना भएका ती व्यक्तिको असार ३ गते बेलुका मृत्यु भएको डा. गौतमले बताए ।

जेठ ३१ गते टाउकोमा चोट लागेर अस्पताल भर्ना भएकी ४३ वर्षीया महिलाको शल्यक्रिया गर्नुअघि असार २ गते परीक्षण गर्न नमुना सङ्कलन गरिएको थियो । उनको निधन भएपछि आएको परीक्षणमा उनमा पनि कोरोनाभाइरस देखिएको मन्त्रालयले जनाएको छ ।

मनाङमा पनि संक्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोभिड–१९ पुगेको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,७४६ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

विगत २४ घण्टामा पीसीआर परीक्षण ५ हजार ७४६ जनाको गरिएको छ । चिकित्सकीय निगरानीमा ६ हजार ६४० जना रहेका छन् ।

देशभरि क्वारन्टीनमा १ लाख १६ हजार २१५ जना रहेका छन् । अहिलेसम्म निको भएर १ हजार १८६ जना घर गएका छन् ।

अहिले देशभरि १ लाख १६ हजार २०० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश २ मा सर्वाधिक संख्यामा मानिसहरू क्वारन्टीनमा छन् ।

अहिले प्रदेश २ र ५ मा सर्वाधिक संख्यामा कोभिड–१९ भएका व्यक्ति भेटिएका छन् ।

यता, काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका–१६ का २२ वर्षका पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएको छ ।

काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुनेकी ३४ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ । ललितपुरका संक्रमितबारे भने केही खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यकामा भेटिएका संक्रमितको ठेगाना नखुलेको बताए ।

उपत्यकामा भेटिएका ६ जना संक्रमितमध्ये ४ जनालाई पाटन अस्पताल लगिएको छ । १ जनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालामा लगिएको छ ।

Published : Thursday, 2020 June 18, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया