गोदावरीका कार्यकारी अधिकृतकी पत्नी र छाेराछाेरीको नाममा विवादित प्लटिङकाे आधा रोपनी जग्गा

गोदवरी, ४ असार । ललितपुरको गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसी विवादमा तानिदै गएका छन् ।

सरुवा भएर आएदेखि नै जैसी विवादित हुन पुगेका हुन् । यसअघि जैसी चितवन जिल्लाको ठोरी गाउँपालिकाको कार्यकारी अधिकृत रहेका थिए ।

ठोरीमा जैसीविरुद्ध स्थानीयहरूले अनियमितताको विरोध गरेका थिए । ठोरीका जनताले अनियमितता र भ्रष्टाचार भयो भनेर जैसीको विरोध गरेपछि सरुवा भएर गोदावरी नगरपालिका आएको जनाइएको छ ।

गोदावरी नगरपालिकाको विकास कार्यक्रममा आफू खुसी गर्ने गरेको आरोप स्थानीयको छ । स्थानीयका कामहरू समयमा नगरेको भनेर धेरै गुनासो बढेको छ ।

कार्यकारी अधिकृत जैसीको कार्यशैली र व्यवहारको उजुरी मेयर गजेन्द्र महर्जनसम्म पुगेको छ । महर्जनले जैसीको क्रियाकलापको निगरानी गरिरहेको स्रोतले जनाएको छ ।
जैसी गोदावरी नगरपालिकाको कार्यकारी अधिकृतमा ०७५ भदौ महिनामा सरुवा भएर आएका हुन् ।

आउनेवित्तिकै उनले गोदावरीमा घरघडेरी जोडजामतिर लागेका थिए ।

कार्यकारी अधिकृत जैसीले परिवारका नाममा विवादित वडा नम्बर १०, डाँडागाउँको प्लटिङको जग्गा पास गराएका छन् । कमिशन स्वरुप दुई कित्ताको ९ आना जग्गा कार्यकारी अधिकृत जैसीले छोरी र श्रीमतीको नाममा पास गराएको स्रोतका दाबी छ ।

कार्यकारी अधिकृत जैसीले डाँडागाउँको प्लटिङमा आफूले जग्गा खरिद गरेको स्वीकार गरेका छन् । ‘मैले कमिशनमा यो जग्गा लिएको होइन । सस्तो पाएपछि किनेको हुँ’, उनले भने, ‘मेरो जागिरको अवधिक दुई दशकभन्दा धेरै भयो । परिवारको कमाइले जग्गा किनेको हुँ ।’

डाँडागाउँको जग्गा प्लटिङमा विवाद भएको थियो । विवाद भएपछि डाँडागाउँको जग्गा प्लटिङको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो ।

एक वर्ष अगाडि स्थानीयले डाँडागाउँ प्लटिङले सार्वजनिक जग्गा मिचेको, मापदण्डविपरित प्लटिङ गरेको भन्दै विरोध गरेपछि झडप नै भएको थियो । जग्गा दलाल र नगरपालिकाका कर्मचारीहरूलाई प्लटिङबाट स्थानीयले लखेटेका थिए ।

अधिकांश समय कार्यकारी अधिकृत जैसी कमिशनको चक्करमा लाग्ने गरेपछि अधिकांश जनप्रतिनिधहरू असन्तुष्ट छन् । जनप्रतिनिधिका साथै स्थानीय सेवाग्राहीहरू पनि जैसीसँग रुष्ट छन् ।

स्थानीय श्याम महर्जनका अनुसार कार्यकारी जैसीको कार्यशैली परिवर्तन भएन भने स्थानीयले आन्दोलन गर्ने तयारी गरिरहेको बताए । ‘कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीज्यूले आफ्नो कार्यशैल सुधार गर्नुपर्छ । जनताको काम गर्नुपर्छ’, महर्जनले भने, ‘उहाँका विषयमा धेरै कुरा बाहिर आएका छन् । भ्रष्टाचार, कमिशन, जग्गा दलालहरूसँगको साँठगाँठ, अबैध ढुंगाखानी र क्रसरहरू सञ्चालन आदिका कुरा सुनिएका छन् । उहाँले यो कुरालाई सुधार गर्नुपर्छ ।’

कार्यकारी अधिकृत जैसीले नगरपालिकाका आयोजनाहरू सेटिङमा उपभोक्ता समिति र ठेकेदारहरूलाई दिने गरेको आरोप छ ।

गोदावरी नगरपालिकामा मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी कांग्रेस निकटका हुन् । गोदावरी नगरपालिकामा कांग्रेस निर्वाचित भएपनि अल्पमतमा छ । नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमतमा रहेको छ ।

कांग्रेसको अल्पमतको फाइदा उठाएर कार्यकारी अधिकृत जैसीले दुबै पक्षको कमजोरीको फाइदा उठाएर कमिशनको चक्करमा लागेको एक जना वडाध्यक्षले बताए ।

‘कार्यकारी अधिकृत जैसीले कांग्रेस र नेकपाका जनप्रतिनिधिहरूलाई गुमराहमा राखेर अबैध रुपमा कमिशन उठाउने कार्य गर्नुभएको गुनासाहरू आएका छन्’, ती वडाध्यक्षले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामीले यो विषयमा मेयर गजेन्द्र महर्जनसँग भनेका छौँ । यस्तै अवस्था रह्यो भने जनता सडक ओर्लिएर नगरपालिकको कार्यलय घेराउ गर्नेभन्दा अर्को बिकल्प रहँदैन ।’

जैसीले ललितपुर क्षेत्र नम्बर १ सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेलको निर्देशनमा कार्यहरू गर्ने गरेको आरोप पनि छ । जैसीले सांसदद्वय सिलवाल र सञ्जेललाई पनि कमिशन दिनुपर्छ भनेर जग्गा प्लटिङ गर्ने दलाल तथा अबैध ढुंगाखानी, बालुवाखानी, क्रसर, उपभोक्ता समिति तथा ठेकेदारहरूसँग कमिशन लिने गरेको आरोप छ ।

जग्गा प्लटिङ्ग भएका गोदामचौर, झरुवारासी, टाहाखेल लगायतका ठाउँबाट जैसीले नियमित रकम असुल्ने गरेको स्थानीयको गुनासो छ ।

देवीचौर, नल्लु क्षेत्रका मापदण्ड विपरित सञ्चालनमा रहेका ढुङ्गाखानी, क्रसरसंग पनि जैसीले राम्रै रकम उठाउने गरेको आरोप छ ।

कार्यकारी अधिकृत जैसीले आफूले कानून विपरितको कुनै पनि कार्य नगरेको बताए । उनले भने, ‘मैले क्रसर, ढुंगाखानी, बालुवाखानीबाट पैसा अबैध असुली गरेको छैन । उपभोक्ता समिति र ठेकेदारहरूसँग पनि एक पैसा लिएको छैन । यी सबै आरोप गलत छन् ।’

कार्यकारी अधिकृत जैसीलाई स्थानीयहरूको गुनासो बढेपछि तीन महिना अगाडि नै सरुवा गर्ने प्रक्रिया अगाडि बढाइएको थियो । तर, जैसीले पावर लगाएर गोदावरी नगरपालिकामा किलो गाढेर बसेका छन् । जैसीलाई नेकपाका प्रदेश सांसद चेतनाथ सन्जेल र प्रतिनिधि सभाका सांसद नवराज सिलवालले राेकेर राखेकाे स्राेतकाे भनाइ छ ।

जैसीले असार महिनामा ठेकेदारहरूसँग धमाधम बिल पास गर्ने नाममा रकम लिन थालेको आरोप छ । उनको यो कार्यबाट ठेकेदार र नगरपालिकाका कार्मचारीहरू समेत तनाबमा परेका छन् ।

Published : Thursday, 2020 June 18, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया