नेविसंघले कम्युनिस्ट सरकारविरुद्ध काठमाडौंमा सोमबार प्रदर्शन गर्दै

काठमाडौं । कम्युनिस्ट सरकारले कोरोना भाइरसको रोकथाम गर्न नसकेको, भ्रष्टाचार र विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको विरोध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ ।

नेविसंघले दिउँसो १ बजे काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो । नेविसंघले कम्युनिस्ट सरकारले कोरोनाका नाममा भ्रष्टाचार गरेको भनेर प्रदर्शन गर्न लागेको जनाएको छ ।

नेविसंघले सरकारका हरेक गलत क्रियाकलापका विरुद्धमा सरकारलाई सच्चिनका लागि दवाव दिने र आम नागरिकलाई सचेत बनाउने उदेश्यले आन्दोलनका कार्यक्रमहरू शुरु गर्न लागेको जनाइएको छ ।

नेविसंघले यसअघि कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको छ ।

कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनुपर्ने नेविसंघको माग छ । कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिनुपर्ने माग गरिएको नेविसंघले जनाएको छ ।

नेविसंघले महामारीकै बीचमा नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने अवस्थामा विद्यार्थीको सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिकालगायतको माध्यमबाट पठनपाठन शुरु गर्नुपर्ने र इन्टरनेटलगायत सबै प्रविधिको निःशुल्क व्यवस्थापन गर्न पनि माग गरेको छ ।

Published : Monday, 2020 June 15, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया