कांग्रेसका जननिर्वाचित अध्यक्ष शर्माको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपरासीका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका निर्वाचित अध्यक्ष राजकुमार शर्माको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

सभपाति देउवाले आइतबार शोक वक्तव्य जारी गरेर शर्माको निधनको खबरले आफूलाई दुखित तुल्याएको बताएका हुन् ।

आइतबार कोरोना व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी हुन जाने क्रममा वर्दघाटमा सवारी दुर्घटनामा परी शर्माको निधन भएको थियो ।

शर्मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीको पूर्व आमन्त्रित सदस्य र साविक सूर्यपुरा गाविसको पूर्व उपाध्यक्ष समेत थिए ।

पार्टीको विभिन्न पदमा संलग्न रहँदै आएका शर्मा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय रुपमा सहभागी हुँदै आएका थिए ।

कांग्रेसका सभापति देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका निर्वाचित अध्यक्ष राजकुमार शर्माको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ ।’

‘नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो’, उनले भने, ‘उहाँको निधनबाट पार्टीले एक होनाहार नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु’, देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ उहाँका सबै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।’

Published : Sunday, 2020 June 14, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया