नेपालको मन दुखाउने मेरो अभिव्यक्ति होइन, चीनकाे षड्यन्त्रप्रति बोलेको हुँः योगी आदित्यनाथ

काठमाडौं । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारतबीचको सम्बन्ध विश्वकै उदाहरणीय रहेको भन्दै दुई देशको सम्बन्धमा नखेल्न अबसरवादीहरूलाई चेतावनी दिएका छन् ।

विश्व हिन्दू परिषद् नेपालका केन्द्रीय महासचिव जितेन्द्र सिंहसँग बिहीबार भएको टेलिफोन सम्वादमा मुख्यमन्त्री आदित्यनाथले आफूले दिएको अभिव्यक्तिलाई गलत अर्थ लगाएर मिडियामा आएको भन्दै चिन्ता जनाए । उनले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्ध विश्वका कुनै पनि देशमा नरहेको बताए ।

‘नाथ सम्प्रदायको आध्यात्मिक सम्बन्ध नेपालसँग गाँसिएको छ’, मुख्यमन्त्री योगी आदित्यनाथसँगको कुराकानी उदृत गर्दै सिंहले भने, ‘गुरु गोरक्षनाथ, गुरु मच्छिन्द्रनाथ र गुरु अबैधनाथ उहाँहरूको तपोभूमि नेपाल हो ।’

‘नेपालमा मेरो चिन्ता भनेको चीनको कुरीतिको शिकार नेपाल नबनोस्’, आदित्यनाथले भने, ‘नाथ सम्प्रदायले नेपालाई गुरु पिताको रुपमा मानेका छौँ । नेपालीहरूलाई जगाउने प्रयास हो’, उनले भने, ‘नेपालमा चीनको आपराधिक षड्यन्त्रलाई देखेर मेरो अभिव्यक्ति आएको हो । नेपाललाई चीनको खतराबाट बचाउनका लागि असल भावनाले मैले बोलेको हुँ ।’

‘मेरो अभिव्यक्तिलाई केही सञ्चारमाध्यमले बङ्ग्याएर नेपाल र नेपाली जनता आक्रोशित हुने गरेर समाचार दिएको पाएँ’, उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई उदृत गर्दै महासचिव सिंहले भने, ‘नेपाल भनेको देवहरूको तपोभूमि हो । आध्यात्मिक भूमि हो । नेपालको आफ्नै गौरवमय इतिहास छ ।’

उनले आफ्नो अभिव्यक्ति नेपाल र नेपाली जनताप्रति पूर्वाग्रही भएर नआएको स्पष्ट पारेको महासचिव सिंहले बताए ।

लखनउको गोरखनाथ, तुलसीपुर, पाटनको देवीको मन्दिरसहित भारतको विभिन्न मठ र मन्दिरहरूमा नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको तथा दुबै देशबीच विवाहदेखि धार्मिक र सांस्कृतिक सम्बन्ध आफ्नै मौलिक प्रकारको रहेको मुख्यमन्त्री आदित्यनाथले जनाएका छन् ।

परिषदका महासचिव सिंहले मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्तिलाई लिएर नेपालमा भइरहेको विरोधप्रति चिन्ता र चासो राखेर टेलिफोन सम्वाद गरेका थिए ।

नेपाललाई चेतावनी दिएको विषयमा आदित्यनाथले नेपालको सन्दर्भमा भन्दा पनि चीनले तिब्बतमाथि गरेको इतिहासको कुरालाई जोडेर सो अभिव्यक्ति दिएको सिंहले बताए ।

‘चीनले नेपालमाथि राम्रो दृष्टीकोण राख्दैन । तिब्बतमाथि जसरी कब्जा जमाएर चीनले अशान्ति फैलायो त्यस्तो अवस्था नेपालमा नओस् भनेर आफू चिन्ता मात्रै जनाएको हुँ’, आदित्यनाथलाई उदृत गर्दै सिंहले भने, ‘चीन नेपालमा शान्ति होस् भन्ने चाहना राख्दैन भन्ने मेरो धारणा हो ।’

मुख्यमन्त्री आदित्यनाथले आफ्नो भनाइलाई पूर्वाग्रही रुपमा नदिएका उल्लेख गरेका छन् । उनले नेपाललाई आफूले जहिले पनि देव भूमि र तपोभूमिका रुपमा लिँदै धार्मिक र सांस्कृतिक सम्बन्धलाई जहिले पनि ध्यान दिने गरेको बताए ।

Published : Saturday, 2020 June 13, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया