दश अर्ब सिध्याउने कम्युनिस्ट सरकारविरुद्ध कांग्रेसद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार कांग्रेसको संसदीय दलको तर्फबाट कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापनि पत्र बुझाइनेछ ।

कांग्रेस प्रदेश सभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरूमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरूमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् कम्युनिस्ट सरकारका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ ।

कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् कम्युनिस्ट प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने विज्ञप्तिमा उल्लेख छ ।

विदेश स्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावासमार्फत् कांग्रेसले सरकारका प्रधानमन्त्री ओलीलाई दवाव दिन ज्ञापन पत्र बुझाउनेछ ।

कोरोनाविरुद्धको संघर्षका क्रममा सरकारले समयमै गम्भीरता नराख्दा महामारीको जोखिम अप्रत्याशित रुपमा तिव्र गतिमा बढ्दै जाने सम्भावना देखिएको कांग्रेसले जनाएको छ ।

‘लकडाउन भएको ८० औं दिनसम्म पनि आम नागरिकहरूमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामग्रीको अपर्याप्ता देखाएर पीसीआर परीक्षण सुस्त गतिमा गरिएको छ’, कांग्रेसले भनेको छ ।

‘मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरू निर्माण गरी क्वारेन्टाइन नै संक्रमण बढाउने कारखाना बन्दै जानु’, विज्ञप्तिमा भनिएको छ, ‘विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने आम श्रमिकहरू खानाको अभावमा भोकका कारण मृत्युवरण गरिसकेको र यो अवस्था भयावह हुने यथार्थताप्रति सरकार उदासीन र असंवेदनशील रहेको छ ।’

‘भारत लगायत विश्वका अन्य देशहरूमा अलपत्र परी आफ्नो मातृभूमिमा फर्कन चाहेका नागरिकहरुलाई उचित व्यवस्थापनका साथ स्वदेश फर्कने वातावरण बनाउन नसक्नु, दिनानुदिन धरासायी बन्दै गइरहेको कृषि, पर्यटन र उद्योग व्यवसायलाई पुनःउत्थानका लागि राहतको कुनै कार्यक्रम नल्याउनु, रोजगारी सिर्जनाको लागि खासै योजना, नीति तथा कार्यक्रम नल्याइनु, श्रमिक, वेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीहरुलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्नु, लकडाउनको कारण स्कूल कलेज बन्द भई विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौल भएको बेला गम्भीर रुपमा राष्ट्रिय विमर्शका साथ ठोस दृष्टिकोण र आवश्यक कार्ययोजना निर्माण गर्न सरकार असफल हुनु, देशको यस्तो विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुब्नुले वर्तमान सरकार असक्षम र गैर जिम्मेवार बन्दै पूर्ण असफल भएको छ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम पार्टीका नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले नेपाल सरकारका प्रधानमन्त्रीलाई जेठ २८ गते ध्यानाकर्षण पत्र बुझाइ सकेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ २०७७ असार २ गते सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2020 June 11, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया