असली औकातमा आइन् सरिता गिरी, देखाइन् भारतप्रति बफादारिता
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारतको समर्थनमा औकात देखाएकी छिन् ।
गिरीले नयाँ नक्सासम्बन्धी संविधान संशोधनको प्रस्ताव खारेजीको माग गरेर बुधबार संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएपछि हँगामा भएको छ । उनको दल समाजवादी पार्टीले संविधान संशोधनलाई समर्थन जनाइसकेको छ ।
सांसद गिरीले संविधान संशोधन प्रस्ताव खारेजीको माग गरेर व्यक्तिगत रुपमा संशोधन विधेयक दर्ता गराएर माइती देश भारतको पक्ष लिएकी छिन् ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नयाँ नक्सा जारी भएकोमा सांसद गिरीले विरोध गर्दै आएकी छिन् । उनले लिम्पियाधुरा नेपालको नरहेको बताउँदै आएकी छिन् ।
व्यक्तिगत रुपमा गिरीले संविधान संशोधनको विधेयक खारेजीको माग गरेर प्रस्ताव दर्ता गराएपछि उनको दल समाजवादी पार्टीले कारबाहीको चेतावनी दिएको छ ।
निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी गिरीलाई कारबाहीको चेतावनी दिएको हो ।
समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले संसदभित्र एउटै दलको मान्यता पाएका छैनन् ।
समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीका तर्फबाट गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन् ।
उनले संशोधनमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी छिन् ।
त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिएका थिए ।
भारतको बिहार राज्यको हाजिपुर–सोनपुरमा जन्म भएकी गिरीले नेपालविरुद्ध अभिव्यक्ति दिँदै आएकी छिन् । उनले नेपालको सार्वभौम र अखण्डातामाथि अभिव्यक्ति दिएपछि आलोचना हुँदै आएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले केही दिनअघि ‘भारतीय चेली’को संसदमा दादागिरी देखिएको टिप्पणी गरेकी थिइन् ।
चौधरीको अभिव्यक्तिलाई हटाउन गिरीले संसदमा सभामुखसमक्ष माग गरेकी थिइन् ।
सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची–३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्तावसहितको संशोधन संसदमा दर्ता गराएको हो ।
उक्त संशोधनको माथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी छिन् ।
गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भू–भाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन् ।
सांसद गिरीका अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै विभिन्न राजनीतिक दलका भ्रातृ संस्थाहरूले कारबाहीको चेतावनी समेत दिइसकेका छन् ।
गिरीले संविधान संशोधनको प्रस्ताव खारेजीको माग गरेर संशोधन प्रस्ताव दर्ता गराएपछि काठमाडौंस्थित उनको निवास अगाडि नारावाजी भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया