तरुण दलद्वारा सरिता गिरीलाई अराष्ट्रिय तत्व घोषणा, सांसदबाट बर्खास्थ गर्न माग
काठमाडौं । नेपाल तरुण दलले प्रतिनिधि सभाकी सांसद सरिता गिरीको अभिव्यक्तिलाई लिएर आपत्त जनाएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरेर राष्ट्रिय अखण्डता र नेपालविरुद्ध अभिव्यक्ति दिने सांसद गिरीलाई पदमुक्त गर्न माग गरेका हुन् ।
‘राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा गिरीलाई संसद पदबाट निलम्बन गर्नेदेखि हदैसम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असैह्य भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अर्राष्ट्रिय तत्वहरूलाई कारबाहीको लागि जोड्दार माग गर्दछ’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘हालसालै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर दिएको अभिव्यक्तिप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि आवश्यक संविधान संशोधन गर्नुपर्ने भएको हुनाले त्यसका लागि नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बसी संविधान संशोधनको पक्षमा मतदान गर्ने संस्थागत निर्णय गरेको यहाँहरू सम्पूर्णमा सर्वबिदितै छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।
‘यसरी संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा निज सांसदले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकताविरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ’, तरुण दलले भनेको छ ।
‘ईतिहासदेखि पुर्खाहरूले बचाएको एक ईञ्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसंग पनि सम्झौता नगर्ने स्पष्ट गर्न चाहन्छ’, तरुण दलको विज्ञप्तिमा उल्लेख छ ।
‘सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल तरुण दलले यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया