काेराेनामा भ्रष्टाचार, गगन गर्जिदा बालुवाटार थर्कियाे, कम्युनिस्ट सरकाले छुट नपाउने

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् युवा नेता गगनकुमार थापाले पाँच वटा पीसीआर मेसिन र २५ हजार कीन किनेर सरकारले दश अर्ब खर्च गरेको भन्दै जवाफ मागेका छन् ।

संसदको मंगलबार बसेको बैठकमा शुरुमै समय लिएर बोल्दै थापाले भारतबाट आएका नेपालीहरूलाई राखिएको क्वारेन्टिनलाई मान्छे मार्ने कन्सर्टेन्सन भनेर टिप्पणी गरेका हुन् ।

उनले कोरोना भाइरसबाट जनतालाई बचाउन नसकेको भन्दै सरकारको आलोचना गरे । थापाले अब कोरोना रोकथाममा भएका प्रयासहरूका बारेमा सदनलाई एक–एक हिसाव किताव दिनुपर्ने माग गरेका छन् ।

‘नेपालभन्दा बाहिर १२७ जना नेपालीको कोभिड १९ बाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय भन्छ– नेपालभित्र १४ जनाको मृत्यु भएको छ’, उनले भने, ‘३७ सय ६२ जना संक्रमित भएका छन् । के मृत्यु भएको संख्या १४ मात्रै हो ?’

‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ वा झण्डिएर मरेका चन्द्रबहादुर परियार, औषधि खान नपाएर कंकादेवी बोहरा वा सुत्केरी भएर अस्पताल जान नपाएकी लालकुमारी रोकायको मृत्युको जिम्मा कसले लिन्छ ?’, थापाले प्रश्न गर्दै भने, ‘क्वारेन्टिनमा मृत्यु भएका सुनिता लोहारको जिम्मा कसले लिन्छ ? झुण्डिएर मर्न बाध्य भएका लीला बल्लभ वा आत्मदाहा गर्न बाध्य भएका सिद्धार्थ आउजुको मृत्युको कसले लिन्छ ? यो त प्रतिनिधि घटना मात्रै हो । यस्तो धेरै देख्न बाँकी छ ।’

‘योभन्दै गर्दा माघ २१ गतेदेखि सदनमा हामीले उठाएका आवाजहरू म सम्झन्छु । फागुन २३ गते यो सदनमा भएको सार्वजनिक महत्वको प्रस्तावमाथिको म सम्झन चाहन्छु’, उनले भनेका छन् ।

‘कांग्रेसको प्रमुख सचेतकको नेतृत्वमा उच्चस्तरीय समितिलाई गएर बुझाएको कांग्रेसको प्रस्ताव म सम्झन्छु । हामी मात्र होइन । हामी धेरैले सुझाव दियौँ । धेरैले सरकारलाई यो गर, यो गर भन्यौँ’, कांग्रेसका सांसद थापाले भने, ‘तर, सरकारले सुनेन । न हाम्रो सुन्यो । न अदालतलेको सुन्यो । न प्रेसको सुन्यो । न नगारिकको सुन्यो । कसैको सुनेन ।’

‘नसुन्दै गर्दा आज हाम्रो नियन्त्रणमा रहँदारहँदै पनि आज हाम्रो यो अवस्था रहेको छ’, उनले भने, ‘यो त्यसै भएको होइन । यसको दोष कसको हो ? के कानूनले गर्दा रोकेको हो ?’
‘के ढुकुटीमा पैसा नभएर रोकेको हो ? के कांग्रेसले रोकेका हो ? के अदालतले रोकको हो ?’, थापाले प्रश्न गर्दै भने, ‘कसले रोकेको हो ? यो रोकेको केवल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहँकारले रोकेको हो । सरकारको अकर्मन्यताले रोकेको हो ।’

उनले भने, ‘सरकारको असक्षमताको गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सोमबारको बैठक बसेर निस्कर्ष निकालेको छ, यो सरकारले कोरोनाको लडाइँबाट अब हामीलाई पार लगाउन सक्दैन ।’

‘अब हामी सहयोग गर्छौं, सयोग गर्छौं भनेर मात्रै बस्दैनौँ । अब हामी प्रश्न गर्छौं, उत्तर चाहन्छौँ र सरकारलाई जवाफदेही बनाएर छाड्छौँ । हामीलाई अब उत्तर चाहिन्छ’, उनले भनेका छन् ।

‘दश अर्ब रुपियाँ खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । पाँच वटा पीसीआर मेसिन किन्ने, २५ हजार वटा जम्मा कीट किनेर दश अर्ब रुपियाँको हिसाव किताव देखाउनु पर्दैन ?’, उनले भने, ‘हामीलाई एक–एक कुराको हिसाव किताव चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने ? यो निर्लज्जताको पराकाष्टा हो । हामीलाई हिसाव चाहिन्छ ।’

‘त्यति मात्रै होइन । क्वारेन्टिनमा एक लाख ६६ हजार मानिसहरू बस्छन् भनेर प्रधानमन्त्री आएर हामीलाई बताउनु हुन्छ’, उनले भने, ‘यो क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सर्टेन्सन क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ ।’

‘भारतबाट आएका नागरिकहरूसँग गर्ने व्यवहार यही हो ? अदालतले भन्यो, संसदले भन्यो, विज्ञले भने पीसीआर टेस्टको दायरा बढाउ’, उनले भने, ‘आज सुदूरपश्चिममा कयौँ दिनदेखि स्वाव कलेक्सन रोकिएको छ । प्रदेश नम्बर २ का कयौँ जिल्लाबाट दशौँ हजार मानिसको रिपोर्ट नआएर क्वारेन्टिनमा छटपटाएर बसेका छन् ।’

‘सरकार के गर्दै छ ? टेस्ट गर्नेको दायरा साँघुरो बनाउँदै छ । अब क्वारेन्टिनमा बस्नेहरू पीसीआर टेस्ट नगर्ने रे !’, थापाले भने, ‘अब मरेको मान्छेको स्वाव परीक्षण नगर्ने रे ! अब संक्रमित भएको मान्छेलाई १४ दिन क्वारेन्टिन, आइसुलेशनमा राखिसकेपछि घर पठाउने बेला पनि टेस्ट नगर्ने रे ! बरु सरकारले यसो गरे हुन्छ । अब टेस्ट गर्नै बन्द गरिदिने । अनि नेपाललाई कोरोना फ्रि देश भनिदिने । किन कि परीक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिदैन ।’

‘जवाफ चाहियो । जिम्मा कसले लिने हो ? प्रधानमन्त्रीले भन्नुभएको हो यसो गर्नलाई ? स्वास्थ्य मन्त्रीले भन्नुभएको हो ?’, कांग्रेसका सांसद थापाले भने, ‘भोलि एक जना, दुई जना निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट, अपराधबाट भाग्न पाइँदैन । विज्ञहरूले भने, स्वास्थ्य मन्त्रालयले भन्यो । आरडीटी परीक्षण काम लाग्दैन । न यो विश्वसनीय छ । न नेपालको अहिलेको संक्रमणको अवस्थामा यसको औचित्य छ । तर, जर्बजस्ती आरडीटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिने ? हामीलाई जवाफ चाहिन्छ ।’

‘मृत्यु भइसकेको मान्छेको स्वाव परीक्षण नगर्ने कसले भन्यो हामीलाई जवाफ चाहिन्छ । अस्पतालको तयारी खोइ ?’, उनले भने, ‘यत्रो दिनसम्म लकडाउन गरिसकेपछि अब संक्रमितको संख्या बढ्दै गर्दा उपचार गर्नका निम्ती कुन अस्पतालमा कुन सामग्री थपियो ? कति जनशक्तिको व्यवस्थापन गरियो ? यसको जवाफ चाहिन्छ ।’

‘विदेशमा बसेका नेपालीहरूलाई ल्याउने भनेर त्यत्रो निर्णय गरियो । अहिले कुन एयरलाइन्सले बोक्ने भनेर झगडा गरेर ती आउनलाई आतुर भएर बसेका नेपालीहरूमाथि यत्रो ठूलो बज्रपात गर्ने ? जवाफ चाहिन्छ’, सांसद थापाले भने, ‘गर्भवती महिलादेखि खोप पाउने बालबालिकासम्म, दीर्घरोगीका उपचारहरूले औषधि किन पाएनन् ? जवाफ चाहिन्छ । कृषक, मजदुरदेखि साना उद्योगी, ठूला उद्योगी व्यवसायीसम्मले प्रधानमन्त्रीको गीत र कविताबाट राहत पाउँदैनन् तिनका लागि कार्यक्रम के छ जवाफ चाहिन्छ ।’

‘यो प्रश्न केवल प्रश्नका लागि होइन । उच्चस्तरीय समिति भनेर जुन बनाइएको छ । हामी उसलाई चिन्दैनौँ । हामीलाई यहाँ आएर चिनाउनु पर्‍यो’, थापाले भने, ‘त्यो समितिको प्रमुख एवम् उपप्रधानमन्त्रीले आएर एक–एक हामीले उठाएको प्रश्नको जवाफ दिनु पर्‍यो । जवाफमा चित्त बुझेन भने प्रधानमन्त्रीजी आउनु पर्‍यो । एउटा–एउटा हाम्रो प्रश्नको उत्तर यहाँ आएर दिनुपर्छ ।’

‘हामीले आज जवाफका लागि अनुरोध मात्र गरेका छौँ । तर, हाम्रो कुराको सुनुवाई भएन, दुई दिन अगाडि हामीले विद्युतीय गाडीको सवारीमा लगाइएको करका सम्बन्धमा पनि विषय उठायौँ’, कांग्रेसका सांसद थापाले भने, ‘यी विषयहरूका बारेमा सदनमा आएर उहाँहरूले जवाफ दिनु भएन भने वा जवाफमा चित्त बुझेन भने आज हामीले रेकर्ड गराएका छौँ । जवाफ मागेका छौँ । तर, अब जवाफ मागेर मात्र बस्दैनौँ । थपक्क बोलेर थपक्क बस्ने दिन गए । अब सरकारले यहाँ आएर हामीले मागेको हिसाव–किताव दिएपछि मात्रै सबै प्रक्रियाहरू सुचारु रुपले अगाडि बढ्ने ठाउँसम्म हामी पुग्छौँ ।’

‘म अहिले आग्रह गर्नु चाहन्छु । सरकारले सोचोस् । तयारी गरोस्’, उनले भने, ‘अब सदनमा कांग्रेसले एउटा– एउटा कुराको हिसाव नदिइकन सरकारलाई सतेर बस्न दिँदैन भन्ने कुरा जानोस् ।’

Published : Tuesday, 2020 June 9, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया