बस्नेतले गरिदिए सिन्धुपाल्चोक कांग्रेसका साढे छ सय नेता कार्यकर्ताको कोरोना बीमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरसको रोकथाम तथा राहत वितरणमा सक्रिय सिन्धुपाल्चोक कांग्रेसका छ सयभन्दा धेरै नेता तथा कार्यकर्ताहरूको बीमा गरिदिएका छन् ।

कांग्रेस नेता बस्नेतका अनुसार लकडाउनका बेला कोरोना भाइरसको रोकथामको अभियान, राहत वितरण र स्वास्थ्य सामग्री प्रदान गर्न कार्यमा अग्रमोर्चामा खटिएका नेता तथा कार्यकर्ताहरूको कोरोना बीमा गरिएको हो । कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि हुने वित्तिकै बीमाको एक लाख उपलब्ध हुने नेता बस्नेतले बताए ।

नेता बस्नेतले सम्पन्न नेता तथा कार्यकर्ताहरूकाे बीमा गरेका छैनन् । जसले बीमा गर्न सक्दैन त्यस्ता कांग्रेसका नेता तथा कार्यकर्ताकाे बस्नेतले बीमा गरिदिएका हुन् ।

‘हाम्रा साथीहरू शुरुदेखिनै कोरोनाको महामारीका बेला स्वास्थ्य सामग्री र राहत वितरणमा खटिनुभएको छ’, बस्नेतले भने, ‘हाम्रा साथीहरूपनि त्रासको वातावरणमा हिँडिरहनुभएको छ ।’

‘मैले अलिकति भएपनि कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह जगाउन वडा तहदेखि पार्टीलाई परिचालन गर्ने हिसाबले शनिबार ६५१ जना नेपाली कांग्रेसका कार्यकर्ताहरू बीमा गर्ने निर्णय गरेको छु’, उनले भने, ‘जो हिजो कोरोना भाइरसको महामारी बढेपछि मसँगै सहयोग गरेर सक्रियताका साथ काम गर्नुभयो अर्थात जनतालाई जोगाउनको लागि खटिएका ती साथीहरू र वडामा पार्टीको ईकाइ सभापति, वडा कार्यसमितिको सचिव, नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको वडाध्यक्षको उम्मेदवार वा विजेताको बीमा गरिदिएका छौँ ।’

‘यो बीमा जिल्लाभरिकै हो । मेरो क्षेत्रको मात्रै कुरा गर्दैन मानवीय समवेदनाको विषय छ’, उनले भने, ‘स्वास्थ्यकर्मीको जिल्लाभरिकै गरिदिएका छौँ ।’

‘पार्टीका नेता तथा कार्यकर्ताहरू जो सक्रिय छन् र भोलिका दिनमा पनि वडा तहदेखिनै कार्यकर्ता खटाउनुपर्ने हुन्छ’, कांग्रेस नेता एवम् पूर्वमन्त्री बस्नेतले भने, ‘त्यो खटाउने बेलामा क्रियाशील बनाउनका लागि वडालाई प्रतिनिधित्व गर्नुपर्छ । वडामा पार्टीका सभापति र सचिवको अनिवार्य बीमा गरिदिने निर्णय भएको छ ।’

यसअघि नेपाली कांग्रेसका नेता बस्नेतले सिन्धुपाल्चोकका सम्पूर्ण ६१३ जना स्वास्थ्यकर्मीहरूको बीमा गरिदिएकाथिए ।

बीमाको लाभ पाउनेमा कार्यालय सहयोगदेखि स्वास्थ्यकर्मी र चिकित्सहरू सबै रहेका छन् ।

बीमा गरिएकाहरूलाई कोरोना पोजेटिभ पीसीआर टेष्टबाट देखिनेवित्तिकै एक लाख रुपियाँ बीमाको रकम प्राप्त हुनेछ ।

Published : Monday, 2020 June 8, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया