सरकारले क्वारेन्टिनहरूलाई यातना गृह बनायोः कांग्रेस नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले क्वारेन्टिनहरूको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै चिन्ता जनाएका छन् ।

सोमबार बिहान रिपब्लिका दैनिकसँग कुरा गर्दै चौधरीले आधारभूत सुविधा नै नरहेका क्वारेन्टिनहरूमै जनताले ज्याउन गुमाउनुपर्ने अवस्था आएको भन्दै सरकारलाई क्वारिन्टिनहरूको अवस्था सुधार गर्न आग्रह गरे । उनले क्वारेन्टिनहरू कोरोना भाइरसको संक्रमण सार्ने अखडा बन्न थालेको बताए ।

उनले सरकारले क्वारेन्टिनहरूलाई यातना गृह बनाएको आरोप लगाए । कोरोना रोकथाम र अति विपन्न परिवारलाई राहत दिन नसकेको भन्दै कांग्रेस नेता चौधरीले सरकारविरुद्ध विशेष निर्णय गरेर जाने बेला आएको बताए । उनले सरकार कोरोना रोकथाममा असफल भइसकेको बताए ।

‘भारतबाट आएका नागरिकहरूलाई राखिएको क्वारेन्टिनको अवस्था दैनिय रहेको छ’, उनले भने, ‘ट्वाइलेट, पिउनेपानीको समस्या र लामखुट्टेको टोकाइ लगायतले गर्दा क्वारेन्टिनहरूमा मानिसहरू जोखिम मोलेर बस्न बाध्य छन् ।’ नेता चौधरीले सरकारलाई गम्भीर बन्न सुझाव दिए ।

कोरोना भाइरसको रोकथाम र राहतमा सरकारले दश अर्ब रुपियाँ खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेकोमा आक्रोशित भएका कांग्रेस नेता चौधरीले खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेका छन् । उनले जनता खान नपाएर ज्यान गुमाइरहेको भन्दै राहतका कार्यक्रमहरू ल्याउन सुझाव दिए ।

उनले भारतबाट आएका जनताको स्वास्थ्य परीक्षण नगरिकन लामो समयसम्म क्वारिन्टिनमा राख्दा व्यक्तिमा हतोत्साहित हुने सम्भावना बढेर जाने बताए । सरकारले छिटोभन्दा छिटो कोरोना भाइरसको परीक्षण गरेर जनतालाई ढुक्कका साथ बस्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

मृत्यु भइसकेपछि कोरोनाको परीक्षण गरेर सरकारले नौटंक गरिरहेको कांग्रेस नेता चौधरीले बताए । ‘मान्छे मर्नुभन्दा पहिला नै आफूलाई के भएको छ भनेर थाहा पाउनुपर्छ’, उनले भने, ‘सरकारको लापरबाहीले मान्छे मरेको एक हप्तापछि रिपोर्ट आउने गरेको छ । यो अत्यन्तै गम्भीर विषय हो ।’

Published : Monday, 2020 June 8, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया