भारतसहित विदेशमा रहेका नेपालीहरूको उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रवासमा रहेका स्वदेश फर्किन चाहने र फर्काउनुपर्ने नेपालीहरूका सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति हुनु आवश्यक रहेको जनाएको छ ।

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले सरकारलाई स्वदेश फर्किने नेपालीहरूलाई प्रवेश गर्ने जिल्ला, सम्बन्धित प्रदेश र सीमा नाका रहेका गाउँपालिका र नगरपालिकामा स्वास्थ्य परीक्षण गर्नुका साथै निश्चित समय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी क्रमशः घर पठाउन सरकारलाई निर्देशन दिएको छ ।

‘आफ्नो खर्चमा स्वदेश फर्किन चाहने नेपालीहरू तथा बेखर्ची भई अलपत्र परेका नेपालीहरूको विवरण संकलन गरी तदअनुरुपको कार्ययोजना बनाउने’, निर्णयमा भनिएको छ, ‘यसमा आवश्यक पर्ने रकम कोरोना संक्रमण रोकथामको प्रयोजनका लागि स्थपित कोषबाट खर्च गर्ने र नेपाल वायु सेवाको विमान उपयोग गर्ने ।’

समितिले संक्रमणका दृष्टिले देशहरू र क्रमशः शहरहरूको वर्गीकरण निलो, रातो गरी ल्याउनुपर्नेहरूको वर्गीकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

भारत प्रवासमा रहेका नेपालीहरूमध्ये नेपाल–भारत सीमा क्षेत्रमा आइसकेकाहरूको सीमा प्रवेश संकलन गरी तदअनुसारको कार्ययोजना बनाउन समितिको निर्देशन रहेको छ ।

‘स्वास्थ्य परीक्षण बमोजिम ती व्यक्तिहरूलाई सीमा क्षेत्रका जिल्ला, सम्बन्धित व्यक्तिको जिल्ला सदरमुकाम वा सम्बन्धित नगर र गाउँपालिकामा निश्चित समयवाधिसम्म अलग राखेर घर पठाउने’, समितिले भनेको छ, ‘हवाईजहाज, पानीजहाज, रेलमार्ग, सडकमार्ग आदि माध्यमबाट आउने कुराको निक्र्यौल गर्ने ।’

समितिले नेपालको परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा नेपालीहरू रहेका देशका सरकारसँग वार्ता गरी त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा नेपालको ठोस प्रस्ताव पठाउने र सोही अनुरुप गर्न सम्बन्धित देश हेर्ने नेपालका कूटनीतिक नियोगलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।

Published : Sunday, 2020 May 17, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया