ओली सुध्रिनुपर्छ, प्रेसलाई गाली गर्ने होइनः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वन्तन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् ।
आइतबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विज्ञप्ति जारी गरेर सभापति देउवाले सरकारका अभिव्यक्ति र व्यवहारबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्थाको संकेत देखिएको बताएका हुन् । उनले लकडाउनका बेला सरकारले प्रेस स्वतन्त्रता हनन् हुने हो कि भन्ने खतरा बढेको बताए ।
‘संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छँदै थिए’, उनले भने, ‘लकडाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ ।’
‘प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टि राख्न मिल्दैन’, कांग्रेस सभापति देउवाले भनेका छन् ।
उनले प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसविरुद्ध अभिव्यक्ति दिने भन्दै द्वेष राख्ने भनेर प्रश्न गरेका छन् ।
देउवाले कम्युनिस्ट सरकार र यसको नेतृत्वले बारम्बार प्रेसविरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन आग्रह गरेका छन् ।
कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट पछिल्लो समय मिडिया विरोध शैली प्रकट हुन थालेपछि कांग्रेसका सभापति देउवाले सच्चिन आग्रह गरेका हुन् ।
‘कोभिड १९ को महामारीका कारण पनि मिडियले गम्भीर चुनौती भोगिरहेको भन्दै पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न पनि उल्लेख गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
देउवाले कोभिड १९ को विश्व महामारीले एकातर्फ पत्रकारको ब्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको व्यवहारिक व्यवस्थापनमा चुनौती ल्याएको बताएका छन् ।
‘विज्ञापनदेखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसबीचमा बन्द भएका छन् भने कयौं पत्रकार बेतलबी स्थितिमा छन्’, उनले भने ।
‘जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गर्दछु’, सभापति देउवाले भनेका छन् ।
नेपाली प्रेसलाई स्वतन्त्र, मर्या्दित र व्यावसायिक बनाउँदै आजको नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा सभापति देउवाले एक्यवद्धता प्रकट गरेका छन् ।
कांग्रेस सभापति देउवाले विश्व प्रेस स्वतन्त्रता दिवसमा स्वदेश र बिदेशमा रहेका सबै नेपाली सञ्चारकर्मी र संचारमाध्यमलाई बधाई र शुभकामना व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया