आवश्यक तयारीसहित लकडाउन खोलौँः कांग्रेस नेता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले आवश्यक तयारी गरेर लकडाउनलाई खोल्न सुझाव दिएका छन् ।

संसदको विधायन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकलाई सम्बोधन गर्दै डा.महतले लामो समयसम्म लकडाउन कायम राख्दा अर्थतन्त्र धरासायी हुनेभन्दै सर्तकता अपनाउँदै लकडाउन खोल्नुपर्ने बताए । उनले कोरोनाभाइरसको संकमण भेटिएको ठाउँलाई आवश्यक निगरानीमा राखेर काम गर्नुपर्ने सुझाव दिएका छन् ।

रोजगारीका अवसरहरू सिर्जना हुने गरेर कृषि व्यवसायसहितका काममा अति न्युन ब्याजदरमा ऋण दिन उनले सुझाव दिएका छन् । उनले गण्डकी प्रदेशमा होमस्टेका नाममा पैसा वितरण गरे जस्तो कार्य गर्ने हो भने मुलुकको अर्थतन्त्रमा सहयोग नहुने बताए । उनले सरकारलाई फजुल खर्चहरू रोक्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बन्द गर्नुपर्ने सुझाव दिएका पूर्वअर्थमन्त्री डा.महतले भने, ‘रोजगारी सिर्जना गर्नुपर्छ । बिगतमा जस्तो झार गोडेर पैसा बाँड्ने कार्य तत्काल बन्द गर्नुपर्छ ।’

डा.महतले कोरोनाभाइरसको संक्रमणका कारण मुलुकमा खर्च कटौती गर्ने बेला राज्यमन्त्री सरहको सेवा सुविधा दिएर सुकुम्वासी आयोग गठन गरिएको भन्दै आलोचना गरे ।

विदेशी सहायता रोक्न नसकिनेभन्दै उनले मुलुकको अर्थतन्त्रमा ठूलो जोखिम रहेको चेतावनी दिएका छन् । उनले आफ्ना कार्यकर्तालाई मात्रै पैसा बाँड्ने गरेर आगामी बजेट ल्याउन नहुने उनले बताएका छन् ।

Published : Sunday, 2020 May 3, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया