ओलीको शानदार जित, मलिन हुँदै बालुवाटारबाट बाहिरिए प्रचण्ड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आत्मालोचना गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति बसेको केन्द्रीय सचिवालयको बैठकमा ओलीले हालसम्म भएका कामकारबाही र गल्तीहरूमा आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले पनि आत्मालोचना गरेको श्रेष्ठले बताए ।
‘हालसम्म भएका कमीकमजोरीहरूमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले आत्मालोचना गर्नुभएको छ’, उनले भने, ‘प्रचण्डसहितका सचिवालयका सदस्यहरूले आत्मालोचना गर्दै बैठक सकिएको छ ।
नेकपाले स्थायी समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठक वैशाख २५ गते ११ बजे काठमाडौंमा बस्नेछ । स्थायी समितिको बैठकको तयारी र एजेण्डा तयारपार्न वैशाख २४ गते सचिवालयको बैठक ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए ।
नेकपाको केन्द्रीय सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको श्रेष्ठले बताए । ‘पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय भएको छ’, उनले भने ।
ओलीले संसदको बैठक छिटै बोलाउन सरकारले तयारी गरिरहेको जानकारी पनि दिएका छन् । संसदको बैठक बोलाउने तयारी भइरहेका बेला आगामी बजेटको नीति तथा कार्यक्रम र बजेटमा राख्ने विषयहरूमा छलफल अगाडि बढाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
सचिवालयले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअनुसार सञ्चालन गर्ने निर्णय गरेको छ ।
‘पार्टीको मार्गनिर्देशन र नीति निर्देशनमा काम गर्ने, आर्थिक लक्ष्य हासिल गर्ने गरेर समाजवातर्फ जाने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अबदेखि सरकार एकलौटी रुपमा जानेछैन ।’
सचिवालयको शनिबारको निर्णयसँगै ओलीको प्रधानमन्त्री र अध्यक्ष दुबै पद बचेको छ । सचिवालयको बैठकमा ओलीको जित भएको छ ।
बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापाले ओलीलाई साथ दिएपछि दोस्रो तहका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पराजय भएको छ ।
सचिवालयको बैठकमा आफूले भनेअनुसार नभएपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट मलिन अनुहार बनाउँदै बाहिरिएको एक नेताले बताएका छन् । वरिष्ठ नेता नेपाल पनि मलिन भएर बाहिरिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया