प्रधानमन्त्री पद बचाउन ओलीको प्रचण्डलाई सिङ्गल अध्यक्षको प्रस्ताव, जिल परे गाैतम
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक्लै कार्यकारी अध्यक्ष भएर पाँच वर्ष पार्टी चलाउन प्रस्ताव गरेका छन् ।
शुक्रबार बालुवाटारमा ओली र दाहालबीच भएको ‘वान टु वान’ वार्तामा ओलीले प्रचण्डलाई एउटा मात्रै कार्यकारी अध्यक्ष बनेर बाँकी रहेको समयमाको पार्टी चलाउन प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ । यो प्रस्ताव प्रचण्डले स्वीकार गरिदिए भने संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बामदेव गौतमको योजना भताभुङ्ग हुनेछ । गौतमलाई ओलीबाट पुनः धोका हुनेछ ।
त्यसको बदलामा प्रचण्डले ओलीलाई पाँच वर्षनै प्रधानमन्त्री बन्न दिनुपर्ने र सरकारलाई पूर्णरुपमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
‘मलाई पाँच वर्षनै प्रधानमन्त्री बन्न दिनुपर्यो । राजीनामा नमाग्नुस्, सरकारलाई पूर्णरुपमा सहयोग गर्नुस्’, ओलीको भनाइ उदृत गर्दै उच्च स्रोतले भन्यो, ‘त्यसको बदलामा तपाई (प्रचण्ड) पाँच वर्षनै सिङ्गल कार्यकारी अध्यक्ष बनेर पार्टी हाँक्नुस् ।’
ओलीको प्रस्ताव सुनेर प्रचण्ड छक्क परेका थिए । त्यसपछि प्रचण्डले ओलीलाई भने, ‘बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव किन राख्नुभयो त ? गौतमजीलाई धोका हुन्छ’, जवाफमा ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईले मेरो राजीनामा मागेपछि केही त जवाफ दिनुपर्यो नि ।’
प्रचण्डले ओलीको सो प्रस्तावका विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल र आफू निकटका सचिवालयका सबै सदस्यहरूलाई जानकारी गराएका छन् ।
शनिबार सचिवालयको बैठक बस्नुभन्दा एक दिन अगाडि ओलीले अर्को ‘पासा’ फालेका हुन् । गौतमलाई प्रधानमन्त्री बनाउनेवाला प्रस्तावमा धेरैले प्रश्न उठाएर भाँड्ने अवस्था देखेपछि ओलीले प्रचण्डलाई नै फकाउने प्रयास गरेका हुन् ।
प्रचण्ड निकटका एकजना सचिवालय सदस्यले ओलीको सो प्रस्ताव आफूले मात्रै मानेर नहुनेभन्दै स्थायी समितिको बैठकमा लगेर अनुमोदन गराउन आग्रह गरेका छन् । ‘तपाईको यो प्रस्ताव हो भने सचिवालय हुँदै स्थायी समिति र केन्द्रीय कमिटीमा लगेर छलफल गराऔँ । जे निर्णय हुन्छ त्यही गरौँ ।’
पार्टीभित्रै ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन दवाव छ । पार्टीभित्र अल्पमतमा परेका ओलीले आफ्नो प्रधानमन्त्री पदको कुर्सी बचाउन अनेक प्रस्ताव र प्रयासहरू गरिरहेका छन् ।
नेकपाको केन्द्रीय सचिवालयको बैठक शनिबार साँझ चार बजे बालुवाटारमा बस्दै छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया