किन फ्यालियो ‘वामदेव अस्त्र’ ? यसरी हुनेछ कम्युनिस्टहरूकाे पतन

समाचार विश्लेषण

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को बुधवार बसेको सचिवालय वैठकमा सत्ताच्यूतको मुखमा पुगेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अप्रत्यासित रुपमा ‘वामदेव’ रुपी अस्त्रको प्रयोग गरेका छन् । आफूलाई पदच्यूत गराउने उद्देश्यले बोलाइएको सचिवालय बैठकमा ओलीले आफ्ना विभिन्न अस्त्रहरुले काम नगरिरहेको अवस्थामा ‘साँप पनि मर्ने लठी पनि नभाँचिने’ अवस्थाको सिर्जना गर्नका लागि यो ‘वामदेव’ रुपी राजनीतिक अस्त्रको प्रयोग गरेका हुन् ।

ओलीइतरहरुको बाहुल्यता रहेको सचिवालय बैठकमा आफू अल्पमतमा पर्ने तथा उक्त बैठकले आफ्नो राजीनामासम्म माग्ने बुझाइमा रहेका ओलीले आफ्ना निकटस्थहरुसँग सल्लाह समेत नगरी भुत्ते अस्त्र अर्थात ‘वामदेव अस्त्र’ को फ्यालेका हुन् । ओलीलाई प्रधानमन्त्री तथा दलको अध्यक्षसमेतबाट पदच्यूत गर्ने मनसायका साथ आएका सचिवालयका सदस्यहरुले उठाउन सक्ने प्रश्नहरुको जबाफ दिन कठिनाइ हुने अवस्था देखिसकेका ओलीले यो अस्त्रले आगामी २० गते हुने अर्को बैठकसम्ममा ओलीइतर पक्षमा फुट ल्याउन सक्ने तथा वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न सकिने उद्देश्य बोकेको छ ।

ओलीले आफूले दुवै त कुनै पदबाट राजीनामा नगर्ने कुटील उद्देश्यले यो अस्त्रको प्रयोग गरेका हुन् । ओलीले अहिलेको अवस्थामा राजीनामा गरेर निकास दिने भन्दा पनि कोरोना भाइरसको समाप्तीपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने तथा अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने भनी बैठकमा आफ्नो धारणा सार्वजनिक गरेपछि ने.क.पा.भित्र अर्को तरंग आएको अवस्था छ ।

राजनीतिका चतुर खेलाडी ओलीले यो अस्त्र किन र के उद्देश्यका लागि फ्याले भनी यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ ।

– वामदेव गौतम अहिले प्रतिनिधिसभाको निर्वाचित सदस्य होइनन् । उनी यही संसद निर्माणका लागि भएको निर्वाचनमा पराजित भएका व्यक्ति हुन् । त्यसैले उनी ने.क.पा.को संसदीय दलको नेता बनिहाल्ने अवस्था पनि छैन किनकि उनी सांसद होइनन् । उनलाई प्रधानमन्त्री बनाउन कि संघीय संसदको सांसद बनाउनु पर्ने हुन्छ कि त हालको संविधानमा संशोधन गरिनुपर्ने हुन्छ ।

– गौतमलाई यसअघि राष्ट्रियसभाको सदस्य बनाउन भनी सचिवालय बैठकले निर्णय गर्दा समेत उक्त निर्णयलाई नमानी गौतमलाई राष्ट्रियसभामा लान नसकिने भनी स्पष्ट रुपमा भनेका ओलीले अहिले उनै गौतमलाई प्रधानमन्त्री बनाउने लालीपप देखाएका छन् । उनलाई राष्ट्रियसभाको सदस्य बनाउनुपूर्व राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गरिनुपर्ने माग गौतमले राखेका तथा त्यो कुरामा ने.क.पा.का अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत सहमति जनाएका थिए ।

यस्तो अवस्थामा गौतमलाई राष्ट्रियसभाको सांसद बनाएका खण्डमा आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हो भन्ने बुझेका ओलीले उनलाई कुनै पनि हालतमा राष्ट्रियसभाको सदस्य नबनाउने भनी भनेका थिए । ओलीको उक्त भनाइ र गराइबाट रिसाएका गौतमले पछिल्लो समय ओलीइतरको पक्षको गतिविधि गरी केही दिन अघि ओलीलाई राजीनामा गरी बालकोटस्थित निवासमा आराम गर्न सुझाएपछि ओली आगो भएका थिए । यस्तो अवस्थामा सांसद नै नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दा हालको समस्यामा केही पर धकेलिने तथा त्यो बेलासम्ममा पासा अर्कोतिर पल्टाउने सोचका साथ ओलीले यो अस्त्रका प्रयोग गरेका हुन् ।

– गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन सकिने अवस्था छ तर उनलाई प्रधानमन्त्री बनाउन सकिने अवस्थामा हालको संविधानको प्रावधान छैन । यस्तो अवस्थामा गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधानमा संशोधन गरिनुपर्ने हुन्छ र त्यसका लागि कम्तीमा दुई तिहाइ मत आवश्यक हुन्छ । अहिले ने.क.पा.सँग दुई तिहाइको अवस्था पनि छैन र अन्य दलले यो संशोधनका लागि सरकारलाई साथ दिने अवस्था पनि छैन । त्यसैले गौतम नै उपयुक्त पात्र ठानी ओलीले यो अश्त्रको प्रयोग गरेका हुन् ।

– संघीय संसदमा उनलाई निर्वाचित गराएर गौतमलाई संसदीय दलको नेता बनाई उनलाई प्रधानमन्त्रीका रुपमा उभ्याउन भने कानूनी हिसाबले मिल्छ । यो उपाय पनि सहज नहुने देखेर नै ओलीले ‘वामदेव अस्त्र’ को प्रयोग गरेका हुन् किनकि त्यसका लागि लामो समय लाग्ने स्पष्ट हुन्छ । त्यसका लागि सबैभन्दा पहिले कुनै स्थान रिक्त गराइनुपर्छ । त्यसरी रिक्त स्थानको पुर्तिका लागि कानूनी तथा निर्वाचन आयोगको प्रक्रिया चलाउनु पर्छ । त्यो निर्वाचनको प्रक्रिया नै लामो हुने हुन्छ ।

त्यसरी निर्वाचन नै गराइएको अवस्थामा पनि वामदेव निर्वाचित नै हुन्छन् भन्ने स्पष्ट छैन । वर्तमान सरकारको अलोकप्रीयता तथा उनीमाथि हुनसक्ने अन्तर्घातका कारण उनको विजय निश्चित अवस्था देखिन्न । यसअघि पनि उनले कास्कीको उपचुनावमा आफूमाथि अन्तरघात हुने भन्दै आफू उम्मेदवार नबन्ने भनी बसेका थिए । वामदेवलाई प्रधानमन्त्री बनाइनु नहुने भन्ने धारणा हालका गृहमन्त्री रामबहादुर थापाले गरेका कारण पनि गौतम उम्मेदवार बनेको अवस्थामा उनको विजयका लागि ‘फलामको चिउरा चपाउनु’ समान हुने स्पष्ट देखिएको छ ।

– वामदेवको नामलाई अघि सार्नासाथ आपूmइतरको समूहमा भूइँचालो जाने आंकलन पनि ओलीले गरेका छन् । गौतमको फुर्के स्वभावसँग परिचित ओलीले वामदेवको नाम प्रस्ताव गर्दा वामदेव मख्ख पर्ने तथा नैतिक रुपमा अर्का अध्यक्ष दाहाल र माधवकुमार नेपाललाई समस्या पर्ने सोचाइमा ओली पुगेका छन् ।

यसअघि वामदेवलाई प्रधानमन्त्री बनाउनका लागि संविधानमा संशोधन नै गर्नुपरे पनि गर्नुपर्छ भन्ने भनाइ दाहाल र नेपालका तर्फबाट आइसकेकाले सोही कुराले उनीहरुलाई नैतिक समस्यामा पार्ने सोचमा ओली पुगेका हुन् । वामदेवको कारण ओलीइतरको पल्ला भारी भएको हालको अवस्थामा अर्को कित्ताबाट गौतमलाई तान्न सकेको खण्डमा आफ्नाविरोधी खेमा पनि कमजोर बन्ने र सत्ताको आडमा अन्य विरोधीलाई पनि विस्तारै तह लगाउन सकिने सोचमा ओली पुगेका छन् ।

– वामदेवको नाम अघि सारेर केही समयका लागि सेफल्याण्डिङ गर्न सकिने सोचमा पुगेका ओलीले केही समय पाएको खण्डमा पासा आफ्नो पक्षमा पल्टाउन सकिने पनि सोचेका छन् । ‘रात रहे अघ्राख पलाउँछ’ भने झैं भोलिका दिनमा कुनै पनि विकल्प खुला भएर आउन सक्ने र ती विकल्पमध्येमा आफूलाई उपयुक्त हुने विकल्पको प्रयोग गर्ने सोच ओलीको रहेको देखिन्छ ।

– यसैगरी ओलीले माधवकुमार नेपाललाई पनि तेस्रो तहको अध्यक्षको प्रस्ताव गरी उनीहरुको समूहमा समेत खेल्ने प्रयास गरेका छन् । नेता नेपालले त्यो प्रस्ताव स्वीकारेको खण्डमा त्यसका लागि पनि समय लाग्ने तथा उनी अध्यक्ष बनाइने भन्नासाथ पूर्वप्रधानमन्त्री झलनाथ खनालको समूहले नेता नेपाललाई अप्ठ्यारो पार्ने गरी कार्य थाल्ने बुझाइमा ओली पुगेका छन् ।

ओलीको चलख्याइँ बुझिसकेका नेता नेपालले यसअघि नै आफूले अधारोमा कुनै कार्य नगर्ने भनिसकेका छन् । यसरी ओलीको उधारो प्रस्तावलाई नेता नेपालले नस्वीकारेको अवस्थामा ‘ओलीले अवसर दिएर पार्टीलाई एक ढिक्का हुने अवस्था सिर्जना गर्दा पनि नमानेको’ भनी नेता नेपालप्रति अन्य नेता तथा कार्यकर्ता खनिनसक्ने अपेक्षा पनि ओलीले गरेका छन् ।

– ओलीको यो अस्त्रको सबैभन्दा रोचक र चलाखीपूर्ण कार्य भने कोरोना भाइरसको अन्त्यसम्म भनी भन्नु रहेको देखिन्छ । यो भाइरसको औषधि पत्ता नलागेको तथा विश्व नै यसबाट आक्रान्त बनेको अवस्थामा यसको अन्त्य कहिले हुने कुनै निश्चित छैन । कतिपयले यसको प्रभाव हट्न पाँच छ महिना लाग्न सक्ने भनेका छन् त कतिपयले यसको पूर्ण निराकरण हुन डेढ दुई वर्षसम्म लाग्न सक्ने भनेका छन् ।

यस्तो अनिश्चित अवस्थालाई अघि सारेर ओलीले आफ्नो कार्यकालमात्र बढाउने सोच बनाएको स्पष्ट रुपमा देखिन्छ । (कौशलकुमार भट्टराईबाट)

Published : Thursday, 2020 April 30, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया