त्यहाँ तुलसा थापा छिर्दा ‘बाख्रापनि हराउनु, बाघपनि कराउनु’

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोरोना भाइरसको संक्रमणपछि राजीनामा दिने आश्वासन दिएका छन् ।

बुधबार राति बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठकमा ओलीले तीन वटा प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

बैठकमा दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाईलाई स्वयच्छाचारी तरिकाले सरकार र पार्टी चलाएको भन्दै प्रधानमन्त्री वा अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए ।

जवाफमा ओलीले आफूले कोरोना भाइरसको संक्रमणको अन्त्यपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताए । त्योसँग ओलीले प्रधानमन्त्रीमा उपाध्यक्ष बामदेव गौतमलाई प्रस्ताव गरेका छन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बनाउन पनि प्रस्ताव गरेका छन् ।

ओलीको यो प्रस्तावले असन्तुष्ट समूह प्रचण्ड–नेपाल समूहभित्र खैलाबैला बनाएको छ । गौतम पनि ओलीको प्रस्तावबाट खुसी भएका छन् ।

सांसद समेत नरहेका गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने ओलीको प्रस्तावको भित्रको रहस्य नेकपाको सचिवालयका सदस्य मात्रै होइन भरखरै जन्मिएको बच्चाले समते बुझेको छ ।

गौतमलाई पटक–पटक सांसद बनाउने भनेर असन्तुष्ट समूहलाई विभाजित बनाउँदै आएका ओलीले फेरि पनि गौतमलाई नै अगाडि सारेका छन् । गौतमलाई राष्ट्रिय सभाको सांसदमा समेत अहिलेसम्म मनोनीत नगरेका ओलीको रणनीतिलाई सबैले बुझेका छन् ।

ओलीको रणनीतिलाई उपाध्यक्ष गौतमले भने बुझेका छैनन् । गौतमले सांसद र प्रधानमन्त्री बन्न पाइने भयो भनेर खुसी साट्न थालेका छन् । बर्दिया जिल्लाबाट बहुमत हुँदा हुँदै पराजित भएका गौतमले आफ्नै पार्टीका नेताहरूले हराएको भनेर पार्टीभित्र उजुरी समेत दिएका छन् ।

बुधबार बालुवाटारमा गौतमकी पत्नी तुलसा थापालाई बोलाएर ओलीले छलफल गरेका थिए । साँझको बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे । ओलीले गौतमकी श्रीमती थापामार्फत नेकपाभित्रको विवादलाई सल्ट्याउन खोजेका छन् । गौतमले असन्तुष्ट प्रचण्ड–नेपालको समूहलाई छाड्ने हो भने ओलीलाई केही सहज हुनेछ ।

नेकपाकाे समानुपातिक सांसद समेत रहेकी थापा बालुवाटार प्रवेश गर्नुलाई संयाेग मात्रै ठानिएकाे छैन । ओलीले उनीमार्फत गाैतमलाई कन्भिन्स गरेकाे चर्चा नेकपाभित्र चल्न थालेकाे छ । गौतमकी श्रीमती समेत रहेकी सांसद थापा बालुवाटार छिर्नुलाई नेकपामा ‘बाख्रापनि हराउनु, बाघपनि कराउनु’को संज्ञा दिन थालेका छन् ।

ओलीको प्रस्तावलाई २० गते बस्ने सचिवालयको बैठकमा कसरी प्रस्तुत गरिन्छ त्यसमा भर पर्नेछ । गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नुपर्छ । संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक पर्छ । गौतमका लागि विपक्षमा रहेका दलहरूले साथ दिने सम्भावना निकै कम छ ।

Published : Thursday, 2020 April 30, 7:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया