सांसद अपहरण गर्न बाहुबलीहरू खटाउने, संविधानकाे संरक्षक राष्ट्रपति नै धृतराष्ट्र

रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

कोरानाजन्य वन्दावन्दीको कारण मर्कामा परेका कुखुरापालक, गाई–भैसीपालक र तरकारी–फलफूल खेती किसानलाई अहिलेसम्म कुनै राहत प्याकेज ल्याउन नसक्ने सरकार गैर जिम्मेवार मात्र होइन, असक्षम र नालायक हो ।

स्वास्थ्य क्षेत्रका डाक्टर, नर्स, एम्बुलेन्स चालक र सम्बन्धित कर्मचारीहरुको सुरक्षा प्रबन्धका लागि भरपर्दा र पर्याप्त पिपिई सामान उपलब्ध गराउन नसक्ने सरकार दुनियाभरको वेकम्वा सरकार हो ।

वन्दावन्दीका कारण रोजगारी गुमाएका, पढाई बन्द भएका र त्यस्तै वेइलममा पर्नाले शहरबाट आफ्नै गाउँमा जान चाहने वा बाहिरबाट काठमाडौं आउन चाहने जनतालाई बीच बाटो मै अलपत्र पारी तमासा गर्ने सरकार पंगू र वेइमान सरकार हो ।

वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा रहेका आ–आफ्ना नागरिकलाई त्यहाँका सरकारहरुले आफ्नै देश फर्कन जोरजुलुम गरिरहँदा वा आफ्नै आवश्यकताले स्वदेश फर्कन चाहने नागरिकहरु बारे बेखबर जस्तो भएर बस्न खोज्ने सरकार आफ्ना नागरिक प्रति असंवेदनशील सरकार हो ।

रोजगारी विहLन भएका मजदूर वा विपन्न अवस्थामा रहेका असक्त नागरिकहरुलाई लक्षित गरी कुनै ठोस राहत कार्यक्रम अहिलेसम्म ल्याउन नसक्ने सरकार अनुत्तरदायी र अमानवीय सरकार हो ।

चीनको वुहानमा कोरोना महामारीले आतंक मचाएको त्यतिका दिन बितीसक्दा पनि समयमै होस् पुर्‍याएर सम्बन्धित स्वास्थ्य उपकरण, औषधी र पिपिई लगायतका सामानहरुको जोहो गर्न नलाग्ने र समय भेड्किएपछि आफ्नो मोतो भित्रका ‘ओम्नी समूह’ जस्ता व्यापारिक समूहलाई खरीद प्रकृया समेत गोलमाल गरी अस्वाभाविक मूल्यमा गुणस्तरहीन सामान ल्याएर कमिसनको खेलमा ल्याउनु अपारदर्शीता र भ्रष्टाचारको योभन्दा नग्न उदाहरण के हुन्छ ? यो सरकारलाई भ्रष्टाचारी नभने के भन्ने ?

जताततैबाट भ्रष्टाचारको पोल खुल्न लागेपछि हतार हतार ‘ठेक्का खारेज’ भन्दै जनमतलाई अर्कोतिर मोड्ने र राष्ट्रको सुरक्षाको गहन जिम्मेवारी वहन गरेको राष्ट्रिय सेनालाई स्वास्थ्य सामाग्री खरीद गर्ने व्यापारिक कार्य जिम्मा दिने सरकारको नियत माथि शंकैशंका किन नउठ्ने ?

कोरोना महामारीले सिंगै राष्ट्र र विश्व नै आक्रान्त भएको बेलामा माहामारीको सामना गर्न सारा शक्ति लगाउन पर्ने ठाउँमा आफूमा सम्पूर्ण शक्ति केन्द्रित गराउने नियतका साथ संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद् आफ्नो मुठीमा ल्याउने र पार्टीहरुमा तोडफोड मचाउने नियतले दल त्याग सम्बन्धी ऐन संशोधन गर्न अध्यादेशहरू जारी गर्न पुग्ने यो सरकारको प्रधानमन्त्री देशमा अस्थिरता, अराजकता र भाडभैलो मचाउने खराब नियतको प्रधानमन्त्री हो भनेर किन नभन्ने ?

एकातिर त्यस्ता अध्यादेश जारी गर्ने, त्यसको सँगसँगै अर्काको पार्टी तोड्न सांसद अपहरण गर्न बाहुबलीहरू खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसीरहेको सांसदलाई आश त्रास देखाउँदै काठमाडौंं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ? संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला ?

आफू अपहरित भएको र आफ्नो सांसद अपहरित गरिएकोमा उजुर लिएर पुलिस र त्यसपछि सरकारी वकिल कहाँ उजुरी दर्ता गर्न जाने सांसद र नेताहरुलाई रित्तै फर्काउने यो सत्ता देशको कानूनी प्रकृयाको स्वयं बाधक र स्वेच्छाचारी तत्व नभए के हो त !

यस्ता तमासाहरुको प्रदर्शनबाट आज देशका तमाम जनता निराश बनेका छन् । विकल्पको खोजी गरिरहेका छन् ।

देशमा न्याय हराएको छ— कानूनको शासन हराएको छ । मूल्य–मान्यता–नीति नियम अनि विचार र सिद्धान्तको राजनीति हराएको छ । यसरी देशको गन्तव्य नै हराएको छ । यस्ता विकृति र प्रवृत्तिहरुबाट देशलाई मुक्त गरेर शहीदहरुको सपना साकार पार्ने विकल्पको बाटो आज देश र जनताले खोजिरहेका छन् ।

जनतामा चरम निराशा जन्माएर, त्यति धैर मत दिएर सत्तामा पु¥याएको पार्टीले समेत रन्थन्याहट पैदा गरेपछि मुलुक कुनै भिर भड्खारा निर पुग्नबाट जोगाउने भरोसाको केन्द्र जनताले खोजिरहेको छ ।

यसरी महामारीको रुपमा आइरहेको कोरोना संक्रमणमा जनताको जीवनमाथि खेलवाड गर्ने, त्यत्रो लामो संघर्ष र बलिदानबाट आएको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्रति नै कठोर प्रहार गर्ने र देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउनुको सट्टा भ्रष्टाचार र पक्षपात मचाउने, भ्रष्टाचारमा मुछिएकाहरुलाई देशको प्रधानमन्त्री नै अघि सरेर बचावट गर्ने, ढाकछोप गर्ने र न्यायिक निकायहरुलाई समेत प्रभावमा पारी भ्रष्ट, तस्कर र मनीमसल वालाहरुको संरक्षक बन्ने शासक र शासन सम्पूर्ण रुपले असक्षम, अयोग्य र असफल शासन नभए के हो त ?

अहिलेको सरकार आजका मूलभूत कर्तव्यबाट विमुख रहेको छ । कर्तव्य सम्झाउने काम विपक्षीको धर्म हो । आजको राज्यको पछिलो कर्तव्य जहाँबाट जसरी हुन्छ, कोरोना रोकथामका उपायको खोजी हो, पहिलो सुरक्षा स्वास्थ्यकर्मीको हुनु पर्‍यो । त्यसपछि देशलाई भोलि आइपर्ने भोकमरीको संकटबाट कसरी बचाउने ? भन्ने हो । विदेश गएका लाखौं नेपाली नेपाल फर्काइदै छन् । तिनलाई रोजगारीको प्रबन्ध हुनु पर्‍यो ।

अहिले शहरबाट हजारौं संख्यामा मानिसहरु गाउँ फर्केका छन् । उनलाई अब गाउँमै थामिने अवस्था कसरी बनाउने हो ? यही मौकामा बढ्दो शहरीकरणलाई गाउँतिरै फर्काउने अवसरको उपयोग कसरी गर्ने हो ? हाम्रो प्रकृति र हाम्रो संस्कृतिमा आधारित अर्थतन्त्रको निर्माण कसरी गर्ने हो ।

कोरोना महामारीले विश्व व्यवस्थामा नै प्रश्न चिन्ह खडा गरेको छ । कुनै पनि अतिवादबाट मुक्त भएको हाम्रो चिन्तन धारालाई सान्दर्भिकतामा कसरी उभ्याउने हो— नेपाली कांग्रेसले गहिरो चिन्तन गर्ने बेला यही हो । पूँजीवादमा पनि समस्या देखिए । साम्यवाद पनि नेपालमा सान्दर्भिक देखिन्न । बीचको बाटो हाम्रै हो ।

बारम्बारको अग्नि परीक्षामा होमिदै, दङ्गल खादै यहाँसम्म आइपुगेको नेपाली कांग्रेसले मात्र यो विकल्प दिन सक्छ कि भनेर जनता यसैतिर आशान्वित हुने अवस्था कसरी पैदा गर्ने हो ? हामीले सोच्न जरुरी छ । व्यक्तिगत जोड घटाउ, आश र त्रासको राजनीति भन्दा माथि उठेर विचार, सिद्धान्त र सेवामा आधारित तथा निष्ठा र योगदानमा आधारित उच्च नैतिक धरातलमा आधारित राजनीति र कार्यशैलीका आधारमा जनताको मन जित्ने र देशलाई योगदान दिने पत्यारिलो शक्ति बनेर नेपाली कांग्रेसले नै लोकतन्त्र रक्षा र राष्ट्रोन्नतिको भरोसाको केन्द्र बन्न सक्नु पर्ने छ । अब देशमा यस्ता लुटतन्त्र दाहोरिन नपाउन् । ठालूतन्त्र हावी हुन नसकुन् । लोकतन्त्रको विकल्प उच्चतम र अधिकतम लोकतन्त्र नै हो— आजको नेपालमा ।

जय नेपाल !

०७७/०१/१७

(१७ वैशाखको केन्द्रीय कार्यसमितिमा प्रस्तुत विचार)

Published : Wednesday, 2020 April 29, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया