देशको अर्थतन्त्रप्रति चिन्तित बन्यो कांग्रेस, लकडाउनको सामना गर्न यसरी बनाउँदै छ रणनीति
काठमाडौं । लकडाउन र कोरोना भाइरसको संक्रमणका कारण देशको अर्थतन्त्रमा पर्ने प्रभाव र भावी योजनालाई लिएर नेपाली कांग्रेसले पूर्वअर्थमन्त्री र अर्थशास्त्रीहरूसँग परामर्श गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूले पूर्वअर्थमन्त्री एवम् अर्थशास्त्रीहरूसँग परामर्श गरेको विज्ञप्तिमा उल्लेख छ । छलफल मूल रूपमा दुई विषयमा केन्द्रित रहेको थियो ।
पूर्वअर्थमन्त्री र अर्थशास्त्रीहरूले लकडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेको भन्दै बेलैमा अनिवार्य राहत उपलब्ध गराउन जरुरी रहेको जनाएका छन् ।
उनीहरूले राहत पाउनुपर्ने व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले समयमा उचित कदम चाल्न जरुरी रहेको सुझाव कांग्रेस नेतृत्वलाई दिएका छन् ।
‘कोरोनाको विश्वब्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पर्ने समग्र असरको पूर्वानुमान एवम् कोरोनापछिको नेपालको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने अत्यावश्यक योजना र रणनीतिहरू समयमा गर्नुपर्छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
छलफल अत्यन्तै गम्भीर र गहिरोसँग सम्पन्न भएको पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले जानकारी दिए ।
‘ज्येष्ठ र जिम्मेवार राजनैतिक दलका रूपमा नेपाली कांग्रेस कोरोना सृजित वर्तमान र भविष्यको संकट सुविचारित ढंगले सामना गर्न जिम्मेवार र एकताबद्ध रुपले अग्रसर छ र रहनेछ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
छलफलमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा.शशांक कोइराला, पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा.रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा.मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र उदयशम्शेर राणाको उपस्थिति रहेको थियो ।
छलफलमा अर्थशास्त्रीहरू डा.पृथ्वीराज लिगल, डा.शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा.गोविन्द पोखरेल, डा.स्वर्णीम वाग्ले, डा.अच्युत वाग्ले, डा.पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा.विश्व पौडेल र राजु नेपालको उपस्थिति रहेको थियो ।
झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली आफ्नै दलभित्रको विवादमा अल्मलिएका बेला कांग्रेसले लकडाउन र कोरोना भाइरसको संकटबाट कसरी मुलुकको अर्थतन्त्र उकास्न सकिन्छ भनेर छलफल गरेको छ ।
प्रधानमन्त्री ओली आफ्नो हल्लिदै गरेको कुर्सी कसरी बचाउन सकिन्छ भनेर दैनिक सरह छलफल गर्दै आएका छन् । ओलीलाई मुलुकको अर्थतन्त्रका विषयमा सोँच्ने फुर्सद नै नरहेको भनेर आलोचना हुन थालेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया