भरतपुर कोरोना अस्पतालबाट कम्युनिस्ट कर्मचारीले ‘चोरे’ सामान, कांग्रेसद्वारा कारबाहीको माग

भरतपुर । नेपाली कांग्रेस चितवनले भरतपुर कोरोना अस्पतालमा कर्मचारीहरूले नै सामग्री अनियमितता, भ्रष्टाचार र चोरी गरेको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर दोषी कर्मचारीहरूलाई निलम्बन गरेर घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । सभापति श्रेष्ठले कोरोना अस्पतालका सामग्री अपचलन भएको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन सर्वपक्षीय समिति छानविन समिति गठनको माग गरेका छन् ।

‘कोरोना अस्पताल भरतपुरमा कार्यरत कर्मचारीहरूले अस्पतालका अत्यावश्यक सामग्रीहरू अपचलन गरी कोरोना अस्पतालाई आर्थिक हानी नोक्सान पु¥याउने र भ्रष्टाचार जन्य गम्भीर अपराधका कार्यहरूमा संलग्न भएको कुरा विभिन्न सञ्चारमाध्यमहरूमा आएको घटनाप्रति नेपाली कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको छ’, ज्ञापन पत्रका कांग्रेसले भनेको छ ।

भरतपुर कांग्रेसले मुलुकको यो असहज परिस्थितिमा आपसी सहमति र एकताका साथ संकट समाधानका लागि जुट्नुपर्नेमा सत्ता र शक्तिको आडमा भ्रष्टाचार जन्य कृयाकलापमा संलग्न हुनु गम्भीर मानवीय अपराध भएको ठहर गरेको जनाएको छ ।

त्यस्ता कृयाकलापमा संलग्न कर्मचारीहरूलाई तत्काल निलम्बन गरि कारबाहीका लागि जोडदार माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

‘सर्वपक्षीय अधिकार सम्पन्न छानविन समिति गठन गर्न र अस्पतालका हालसम्मका आर्थिक गतिविधिहरूको छानविन गरि सत्यतथ्य सार्वजनिक गर्न माग गर्दछौँ’, ज्ञापन पत्रमा उल्लेख छ ।

‘अन्यथा यस घटनाबाट सिर्जित परिस्थितिको सम्पूर्ण जिम्मेवार भरतपुर महानगरपालिका र अस्पताल व्यवस्थापन समिति हुनुपर्ने समेत ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र पेश गर्दछौँ’, ज्ञापन पत्रमा नेपाली कांग्रेस चितवनका सभापति श्रेष्ठले भनेका छन् ।

भरतपुर कोरोना अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा देखिएको छ ।

खनाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको नेपाल निजामती कर्मचारी संगठन चितवनका जिल्ला अध्यक्ष हुन् ।  बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन् ।

उनीहरूले स्टाण्ड फ्यान, सर्जिकल मास्क, कम्प्युटरको स्क्रिन, स्यानिटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लामखुट्टे भगाउने धुप, बेगन लगायतका सामान तीन पोका बनाएर निकालेको भिडियोमा देखिएको छ ।

वीरगञ्जका बिरामी सन्तोष यादवको मृत्यु भएसँगै विवादमा परेपछि यो कोरोना अस्पताललाई भरतपुर अस्पतालको शाखा बनाउने निर्णय गरिएको थियो ।

खनाल, बराल र तिवारीले चैत ३० गते राति ९.३० बजेसम्म बसेर सामानहरू उठाएका थिए । उनीहरूले केही सामान आ–आफ्ना घर लगेका छन् । केही सामान नारायणगढको एक सर्जिकल पसललाई बेचेको स्रोतले जनाएको छ ।

आरोपीहरूले भने भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखामा लगेको दाबी गरेका छन् । महानगरका लेखापाल खनालले आफूहरूले सामान चोरी नगरेको दाबी गरेका छन् ।

भरतपुर अस्पतालको स्टोर शाखा प्रमुख केशव सापकोटा कोरोना अस्पतालबाट केही थान मास्क र पीपीई मात्र ल्याएको बताएका छन् । भिडियोमा लेखापाल खनालले इलेक्ट्रिसियन सन्तोष कुमारलाई हात हालेको पनि देखिएको छ ।

कुमार जाइलागेपछि खनाललाई जोगाउन बराल बीचमा आएको सीसीटीभी फुटेजमा देखिएको छ । पेस्की रकमको बिल नदिएपछि कुटपिट गरेको लेखापाल खनालले स्वीकार गरेका छन् ।

गत ७ चैतबाट हतारमा सञ्चालन गरिएको भरतपुर कोरोना अस्पतालको नक्कल गर्दै बुटबल लगायतका स्थानमा अलग्गै कोरोना अस्पताल बनाइएको थियो ।

नमुना मानिएको अस्पताल नै अहिले अस्तव्यस्त बनेको छ । अस्पतालमा लाखौं अनियमितता भएको चर्चा चल्न थालेको छ । भरतपुर महानगरपालिकालाई अस्पताल सञ्चालन गर्न बागमती प्रदेश सरकारले चैत २० गते एक करोड दिएको थियो ।

महानगरपालिकाको विपद् कोषबाट छ लाख ५० हजार लेखापाल खनालको नाममा पेस्की दिएको थियो । अस्पतालमा वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रुपैयाँ खर्च भएको देखिएको छ ।

कोरोना अस्पताल सञ्चालन कार्यदलको बैठकमा भने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक करोड २७ लाख खर्च भएको विवरण दिएका छन् ।

अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार र औषधि तथा मेसिनरी खरिदमा ५२ लाख २८ हजार दुई सय १० खर्च भएको छ । यसमा तोकिएको ४५ लाखको सिलिङ नाघेर खर्च गरिएको छ ।

अस्पतालले कुन औषधि, कोबाट, कतिमा किनेको भन्ने खुलाएको छैन । पीपीई र एन ९५ मास्कमा चाहिँ भ्याटसहित ३४ लाख खर्च गरेको देखाइएको छ ।

५२ लाखमध्ये १८ लाखको हिसाब अस्पतालले देखाएको छैन । पाँचवटा एसी र पंखा खरिदको खर्च ७४ लाखमा जोडिएको छैन ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले अस्पतालमा चोरी र घोटालाबारे महानगर प्रमुख रेनु दाहाल, भरतपुर अस्पतालका अध्यक्ष एवं कोरोना अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारी र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी जानकार रहेको बताएका छन् ।

उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल समितिको संयोजक तोकिएका छन् ।  सदस्यमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक–एक जना रहनेछन् ।

भरतपुर अस्पतालले चोरीमा संलग्न भनिएका बराल र महानगरपालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत सुवेदीलाई फिर्ता बोलाएको छ ।

Published : Tuesday, 2020 April 28, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया