सांसद अहपरणका दाेषीलाई कारबाही गर्न कांग्रेससहितका विपक्षी दलहरूको माग

काठमाडौं । नेपाली कांग्रेससहितका विपक्षी दलहरूले लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई कुल्चिदै कम्युनिस्ट सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको ठहर गरेका छन् ।

ललितपुरको सानेपास्थित कांग्रेसको पार्टी मुख्यालयमा सोमबार बसेको विपक्षी दलका शीर्ष नेताहरूको बैठकले कम्युनिस्ट सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिको विरोध गर्ने निर्णय गरेका हुन् ।

‘हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं’, बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसद डा.सुरेन्द्र यादवलाई अहपरणमा संलग्नहरूलाई कारबाही नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा.सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ’, विपक्षी दलहरूले निर्णय गरेका छन् ।

समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले अपहरण शैलीमा उठाएर काठमाडौं ल्याइ मरियट होटेलमा राखेका थिए ।

आइतबार सांसद डा.यादवका अपहरणकारीलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिँदा काठमाडौं प्रहरीले उजुरी लिन मानेको थिएन ।

यसैवीच, विपक्षी दलहरूले कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

उनीहरूले भनेका छन्, ‘नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन ।’

‘यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ’, उनलीहरूको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ ।’

संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव, शरतसिंह भण्डारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।

बैठकमा कांग्रेसबाट सभापति देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा.शशांक कोइराला, पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र श्री राधेश्याम अधिकारी सहभागी थिए ।

जनता समाजवादी पार्टी, नेपालबाट महन्थ ठाकुर, डा.वावुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डा.प्रकाशचन्द्र लोहनीको सहभागिता रहेको थियो ।

Published : Monday, 2020 April 27, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया