रेडियो नेपालमा देखियो कम्युनिस्ट अधिनायकवाद, शाहीकालको झल्को

काठमाडौं । रेडियो प्रसार सेवा विकास समितिद्वारा सञ्चालित रेडियो नेपालले पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर खैलाबैला भएको छ ।

सोमबार बिहान कार्यक्रम सञ्चालक डा.नवराज लम्सालले डा.भट्टराईको अन्तर्वार्ता लिएका थिए । सो अन्तर्वार्ताले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै रेडियो नेपालले माफी मागेको हो ।

रेडियो नेपालमा कार्यरत ओली निकटका कम्युनिस्ट पत्रकार र कर्मचारीहरूको आपत्तिपछि खैलाबैला भएको स्रोतले जनाएको छ ।

रेडियो नेपालमा अबदेखि अतिथि चयनमा अघोषित रुपमा सेन्सर लगाएको जनाइएको छ । रेडियाे नेपाल केन्द्र सरकारद्वारा नियन्त्रित सन्चारमाध्यम हाे ।

राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि यस्तै खालका हर्कत भएका थिए । त्यसपछि विरोध भएको थियो । शाहीशासनलाई झल्को दिने गरेर रेडियो नेपालमा घटना भएपछि कम्युनिस्टहरूले निरंकुशताको संकेत दिएको भन्दै आलोचना भएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार विज्ञप्ति जारी गरेर डा.भट्टराईको अन्तर्वार्तामा प्रयोग भएका शब्दप्रति दुखी भएको भन्दै माफी मागेका छन् ।

‘रेडियो नेपालबाट दैनिक प्रशारण हुने कार्यक्रम ‘अन्तरसम्वाद’ अन्तर्गत वैशाख १५ गते बिहान साढे ६ बजे समाचार महाशाखा प्रमुख डा.नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सो कार्यक्रम प्रत्यक्ष प्रसारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौँ’, कार्कीले भनेका छन्, ‘अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरूमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।’

पूर्वप्रधानमन्त्री डा.भट्टराईले सांसद अपहरण, प्रहरीले जाहेरी लिन नमानेको लगायतका विषयमा सरकार र प्रधानमन्त्री ओलीलाई अन्तर्वार्ताका क्रममा जोडेर अभिव्यक्ति दिएपछि रेडियो नेपालमा कार्यरत कम्युनिस्ट निकट पत्रकार र कर्मचारीहरूलाई चित्त बुझेको थिएन ।

उनीहरूले बालुवाटारसम्म कुरा पुर्‍याएपछि कार्यकारी निर्देशक कार्कीलाई विज्ञप्ति निकाल्न लगाइएको जनाइएको छ । कार्यक्रम सञ्चालक डा.लम्सालसँग पनि रेडियो नेपाल प्रशासनले स्पष्टीकरण लिएको स्रोतले जनाएको छ ।

केही महिना अगाडि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटासँग सम्पत्तिसम्बन्धी प्रश्न सोधेको भन्दै नेपाल टेलिभिजनबाट कार्यक्रम प्रस्तोता राजु थापालाई हटाइएको थियो ।

Published : Monday, 2020 April 27, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया