लकडाउनका बेला समस्यामा परेका किसानहरूकाे माग पूरा गर्न किसान संघकाे माग
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान संघका सभापति भानुभक्त सिग्देलले कोरोना भाइरस महामारीबाट बच्न देश लकडाउनमा रहेका कारण सम्पूर्ण देशवासी गम्भीर समस्यामा रहेको भन्दै चिन्ता जनाएका छन् ।
सभापति सिग्देलले सोमबार विज्ञप्ति जारी गरेर लकडाउनले किसान वर्ग अझ बढी समस्याग्रस्त हुन पुगेको जनाएका हुन् ।
‘दिनभरि मजदुरी गरी जीवनयापन गर्ने कृषि श्रमिकहरूको बिहान–बेलुका चुलो बलेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘व्यवसायिक उत्पादनमा संलग्न किसानले आफ्नो उत्पादन बजारमा पुर्याउन नपाएर त्यसै नष्ट भएर ठूलो ऋणमा डुबेका छन् ।’
‘कृषिजन्य कच्चा पदार्थमा आधारित कृषि उद्यमीहरू गम्भीर संकटमा छन्’, संघका सभापति सिग्देलले भनेका छन्, ‘उत्पादनमा लागेका किसानहरू मल बीउ जस्ता अति आवश्यक चिजको अभावमा नयाँ उत्पादनमा लाग्न पाएका छैनन् ।’
सभापति सिग्देलले भने, ‘यो परिदृष्य हेर्दा नेपालको कृषि क्षेत्र र किसान तहसनहस भएका छन् ।’
‘यसको दुरगामी असर हाम्रो अर्थव्यवस्थामा पर्नेवाला छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार यी तमाम समस्याहरू मुखदर्शक भएर हेरि राखेको छ ।’
‘लकडाउन लागू गर्दैमा आफ्नो सबै कर्तव्य पूरा भएको ठानेको छ । यो अवस्थाप्रति नेपाल किसान संघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘सरकारसँग श्रमिक किसानलाई गासबासको व्यवस्थापनका लागि कुखुरा पालक किसान, दुग्ध उत्पादक किसान, मह उत्पादक किसान लगायत सबै खाले व्यावसायिक किसानहरुको नोक्सानको क्षतिपूर्ति दिने र आगामी दिनमा यस्तो क्षति हुन नदिन सुरक्षित उत्पादन र बजार व्यवस्थापनको ग्यारेण्टी गर्ने प्रकारको राहतका कार्यक्रम घोषणा गर्न नेपाल किसान संघ जोडदार अपील गर्दछ’, संघले भनेको छ ।
किसानका मागहरूलाई यथाशीघ्र पालना गर्नुपर्ने भन्दै संघले अन्यथा संघर्षमा उत्रन बाध्य हुने जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया