यस्तो छ ‘प्रचण्ड–नेपाल’ फुटाउने ओलीको प्रस्ताव, जिल परे नेताहरू

काठमाडौं । अध्यादेश प्रकरणपछि झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको पद धरापमा परेका बेला असन्तुष्ट समूहलाई फुटाउन विभिन्न प्रस्तावहरू आएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलमार्फत ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्षको प्रस्ताव पठाएको उच्च स्रोतले जनाएको छ ।

पोखरेलले नेता नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेर ओलीको प्रस्तावहरू सुनाएका छन् । ओलीको प्रस्तावका विषयमा नेता नेपालले प्रचण्ड र आफू निकटका नेताहरूसँग परामर्श गरेका छन् । तर, नेताहरूले नेपाललाई ओली धेरै चलाख भएको भन्दै विश्वास नगर्न सुझाव दिएका छन् ।

ओलीले असन्तुष्ट समूहका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमको गठबन्धनलाई फुटाउन सो प्रस्ताव ल्याइएको एक नेताले बताए । नेकपाभित्र ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दवाव परेको छ ।

ओलीले नेता नेपाललाई पठाएको प्रस्तावमा प्रदेश सरकारहरूको मुख्यमन्त्री हेरफेरको कुरा रहेको छ । ओलीले प्रदेश १ को मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका डोरमणि पौडेललाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल निकटको नेतालाई बनाउन प्रस्ताव गरेका छन् । प्रदेश १ मा राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने राई मुख्यमन्त्री छन् । बागमती प्रदेशका मुख्यमन्त्री पौडेल ओली निकटका हुन् ।

प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा ओली निकटका मुख्यमन्त्री छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्वमाओवादीले पाएको छ ।

वरिष्ठ नेता नेपाल निकट मानिने प्रदेश १ मा स्थायी समिति सदस्य भीम आचार्य र बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर, उनीहरूलाई ओली र राष्ट्रपति भण्डारीले हराइदिएका थिए ।

ओलीले नेपालसँग केन्द्र सरकारको मन्त्रिमण्डल हेरफेरको अर्को प्रस्ताव गरेका छन् । अबको मन्त्रिमण्डलमा नेपाललाई बराबरीको हैसियतमा मन्त्रीहरू दिने प्रस्ताव ओलीको रहेको स्रोतको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुषालमात्रै नेपाल निकटका छन् ।

ओलीले आफ्नो सचिवालयमा हेरफेरको सन्देश पनि नेपाललाई पठाएका छन् ।

ओलीले अर्को गोप्य प्रस्ताव पनि रहेको छ । त्यो हो नेकपाको पार्टी अध्यक्षको प्रस्ताव । मुख्यमन्त्री, मन्त्री र सचिवालयमा कुरा नमिले ओलीले आफूलाई प्रधानमन्त्री पद राखेर पार्टीको पहिलो अध्यक्षमा वरिष्ठ नेता नेपाललाई प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री पद आफूलाई राख्ने गरेर ओलीले अध्यक्षमा नेपाललाई प्रस्ताव गरेको नेपाल निकटका एक नेताको दाबी छ ।

दोस्रो तहका अध्यक्ष प्रचण्डलाई झट्का लाग्ने गरेर ओलीले नेपाललाई गरेको प्रस्तावबाट असन्तुष्ट समूह झस्किएको छ । पार्टीभित्र कमजोर र अल्पमतमा पर्दै गएपछि ओलीले आफ्नो हातबाट फुत्किने तयारीमा रहेको प्रधानमन्त्री पद बचाउन विभिन्न प्रयासहरू गरिरहेका छन् ।

Published : Monday, 2020 April 27, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया